PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

ट्रमा सेन्टरमा कृत्रिम जोर्नी प्रत्यारोपण



पहिलोपोस्ट

ट्रमा सेन्टरमा कृत्रिम जोर्नी प्रत्यारोपण

काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरमा कृत्रिम जोर्नी प्रत्यारोपणको उपचार हुने गरेको छ।
 
जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने यो उपचार सेवा ट्रमा सेन्टरले उपलब्ध गराएको हो। सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्राडा श्रीकृष्ण गिरीले दुई महिनाअघि प्रत्यारोपण सेवा सुरु गरिएको जानकारी दिए।
 
'विभिन्न कारणबाट जोर्नीले काम गर्न नसक्ने अवस्था आएपछि प्रत्यारोपण गर्नुपर्ने हुन्छ,' उनले भने, 'दुर्घटनामा परी आएका बिरामीकै सेवाका लागि हामीले कृत्रिम जोर्नी प्रत्यारोपण सेवा थालेका हौं।'
 
सेवा सुरु भएपछि तीन जनाको घुँडा र नितम्ब प्रत्यारोपण गरेको उनले जानकारी दिए। तीमध्ये एक जनाको गतवर्षको भूकम्पमा लडेर जोर्नी भाँचिएको थियो।
  
खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ। जोर्नी प्रत्यारोपण गर्न ६० हजारदेखि करिब रु तीन लाखसम्म पर्ने डा गिरीले बताए।
 
प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्नु हुँदैन। पलेटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उफ्रने, धेरै उकालो-ओरालो हिँड्ने, रूख चढ्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन। खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकको भनाइ छ।
 
नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौं लगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकेको छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell