PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

डिपिआर बनेको दुई वर्ष बित्दा पनि हवाईमैदान निर्माण प्रक्रिया अघि बढेन



रासस

डिपिआर बनेको दुई वर्ष बित्दा पनि हवाईमैदान निर्माण प्रक्रिया अघि बढेन

पाँचथर : विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको दुई वर्ष बितिसक्दा पनि पाँचथरको रानीटारमा हवाईमैदान निर्माण प्रक्रिया सुरु हुन सकेको छैन।
 
रानीटार–५ र ६ को सङ्गमस्थलमा पर्ने स्याउडाँडामा हवाई मैदान निर्माणार्थ स्थानीयस्तरबाट आवश्यक प्रक्रिया पूरा गरिए पनि सरोकारवाला निकायले ठोस कदम नचाल्दा काम अघि बढ्न नसकेको हो।
 
मैदानका लागि आवश्यक पर्ने करिब ४२५ रोपनीमध्ये ८० प्रतिशत जग्गा स्थानीयवासीले उपलब्ध गराउन मञ्जुरिनामा दिइसकेका छन्। ती जग्गा सरकारी मातहतमा ल्याउन पहल नहुँदा कामले गति लिन नसकेको जग्गादाता बताउँछन्।
  
स्थानीयस्तरमा आवश्यक तयारी पूरा गरेपछि मन्त्रिपरिषद्को २०६९ असोज २८ गते बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्याउडाँडामा विस्तृत अध्ययन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार प्राधिकरणले सोही वर्ष सर्भेक्षण सकेको थियो।
 
जग्गा सरकारी स्वामित्वमा ल्याउने र हवाई मैदानका लागि पूर्वाधार निर्माण गर्ने काम सुरु नहुँदा निराश हुनुपरेको जग्गादाता बलबहादुर गुरुङको गुनासो छ।
 
'हामीले यहाँ हवाईमैदान निर्माण हुने आशाले जग्गासमेत उपलब्ध गरायौँ, तर अहिलेसम्म राज्यले कुनै पहल अघि बढाउन सकेन,' उनले भने।
 
प्राधिकरणले जिल्लाका पाँच स्थानमा गरेको प्रारम्भिक अध्ययनका क्रममा उक्त स्थान छनोट भएको थियो। हवाई मैदानलाई आवश्यक पर्ने सो क्षेत्रको करिब ४२५ रोपनी जग्गा जग्गाधनीले प्रदान गर्ने लिखित निर्णय भएको छ भने जग्गाधनीलाई सरकारी मूल्याङ्कनका आधारमा मुआब्जा दिन गाविस र जिल्लास्तरमा सहमति भइसकेको छ।
 

हवाईमैदान निर्माणका लागि मन्त्रालयले गरेको विस्तृत अध्ययनका क्रममा १६ करोड ५४ लाख रुपैयाँको लागत लाग्ने अनुमान छ। ६७० मिटर रनवे, ४० मिटर चौडाइको हवाईमैदान निर्माण गरिने विस्तृत प्रतिवेदनमा उल्लेख छ। फाइल फोटो : सरोज शर्मा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell