काठमाडौं : राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संविधान संशोधनका विषयमा भारतलाई गरिएको पत्राचारबारे प्रश्न तेर्स्याएका छन्।
संसदको बैठकमा केसीले प्रधानमन्त्री प्रचण्डलाई सोधे, 'के हामीले हाम्रो संविधान आफैं संशोधन गर्न सक्दैनौं?'
अध्यक्ष केसीले संविधान संशोधन गर्दैछौं भनेर राजदूत बनाएर पठाएर 'छिमेकी शासक'हरुलाई जानकारी गराउनुपर्ने र विन्ती बिसाउनुपर्ने कारणबारे समेत जिज्ञासा राखे।
'सम्माननीय प्रधानमन्त्रीज्युले के पठाउनुभएको हो छिमेकमा? त्यो सदनमा आएर उहाँले नै स्पष्ट गराउनुपर्छ,' केसीको भनाइ थियो।
केसीले वर्तमान उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलबीच बालुवाटारमा भएको 'दोहोरी'को प्रसङ्ग समेत उप्काए।
उनले सत्तामा जानुपर्ने र टिक्नुपर्ने भएर नेपाली नेताहरुले विदेशीको दलाली गर्नुपर्ने र चाकरी गर्नुपर्ने अवस्था उत्पन्न भएको टिप्पणी समेत गरे।
सीमाङ्कनको भिटो
उपप्रधानमन्त्री केसीले केही शक्तिले स्थानीय निकायको निर्वाचन गर्न नदिने र संविधान कार्यान्वयनको ढिलाइका लागि सीमाङ्कनको भिटो प्रयोग गरेको आरोप लगाएका छन्।'अहिले विभिन्न खालका बखेडा थापेर स्थानीय निकाय निर्वाचन नगर्ने षड्यन्त्र भइरहेको छ। नयाँ संविधान कार्यान्वयनमा ढिलाइ गर्ने तथा कतिपय सीमांकनको भिटो प्रयोग गरेर मुलुकलाई अगाडि बढ्न नदिने र अनिर्णयको बन्दी बनाउने खेलमा लागेका छन्,' केसीले भने, 'हामी यसमा सतर्क होऔं।'
उनले नयाँ संविधान कार्यन्वयनका लागि स्थानीय निकाय, प्रदेश र केन्द्रको चुनाव गराउनुपर्नेमा जोड दिए। 'बहालवाला कर्मचारीलाई सत्ता बुझाएर चुनावमा गएको जस्तो दुर्दशा भोग्न नपरोस्,' उनको भनाइ थियो।