काठमाडौं : वीर अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य मन्त्री गगनकुमार थापाले सय दिनको कार्ययोजना र समाधानका उपायसहित एक हप्तामा पेस गर्न निर्देशन दिएका छन्।
निरीक्षण क्रममा उनले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुपर्नेमा जोड दिए। अस्पतालका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले भने, 'सम्पूर्ण नेपाली नागरिकको राम्रो उपचार पाइने भरोसाको केन्द्र भएकाले यहाँबाट दिइने सेवा पनि जनतामैत्री हुनुपर्छ।'
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति डा. गणेश गुरुङले अस्पतालमा बन्द भएको रेडियोथेरापी सेवा छिटो सुरु गर्नुपर्ने, नर्सिङ क्याम्पस भाडामा लिई व्यवस्था गर्नुपर्ने, गुरुयोजनानुसार सर्जिकल ब्लक निर्माण प्रक्रिया अगाडि बढाउन ग्लोबल टेन्डर गर्ने लगायत कार्य तत्काल सुरु गर्न आवश्यक रहेको जानकारी गराएका थिए।
मन्त्री थापाले अस्पतालमा ६ वर्षदेखि अनसनरत गङ्गामाया अधिकारीसँग पनि सघन उपचार कक्षमा भेट गरेका छन्। भेटका क्रममा अधिकारीले आफ्ना छोराको हत्यारालाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गरिन्। रासस