 
काठमाडौँ : गएको जेठ २५ गते बिहान पोखराको मिलनपथमा एक युवती अचेत अवस्थामा भेटिइन्। टाउकोमा चोट लागेको अवस्थामा भेटिएकी ती युवतीको सनाखत केही समयपछि मात्रै भयो। उनी थिइन् - गोरखा जिल्ला सिर्दिवा गाविस वडा नम्वर ३ घर भई हाल पोखरामा बस्दै आएकी २१ वर्षकी स्मृति गुरुङ। 
अचेत अवस्थामा भेटिएकी ती युवतीलाई तत्कालै पोखराको मणिपाल हस्पिटल लगिएको थियो। टाउकोमा सामान्य चोट देखिए पनि चिकित्सकले हजार कोशिश गर्दा पनि स्मृतिलाई बचाउन सकेनन्। 
भोलिपल्ट बिहान उनले सदाको लागि आँखा चिम्लिन्। स्मृति सदाका लागि निदाए पनि प्रहरीलाई भने यो घटनाले निदाउन दिएन। प्रहरीले उनको मृत्यु कसरी भयो भन्ने विषय खोज्न थाल्यो। प्रहरीले अनेक सूत्र प्रयोग गर्यो। 
हत्या हो भन्ने प्रहरीलाई शंका लागेको थियो। भारत मध्यप्रदेश शिवपुरी जिल्ला महल कोलोनी घर भई हाल पोखरा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षका अखिलेष झालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान शुरु गर्यो। 
अन्ततः उनले स्मृतिको हत्या गरेको स्वीकार गरे। तर हत्या गर्नुको कुनै कारण भने थिएन। स्मृतिलाई अखिलेशले चिन्दा पनि चिन्दैन थिए। अखिलेशको एउटै खराब बानीको कारण स्मृतिको अकालमा नै मृत्यु भएको थियो। 
कास्की जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार अखिलेशको बयानको आधारमा उनको गलत बानीको कारण स्मृतिको मृत्यु भएको खुलेको हो। अखिलेश झा राति-राति आफ्नो बाइक लिएर एकान्त र सुनसान ठाउँमा घुम्न जान्थे। जब उनी एकान्त र सुनसानमा घुम्थे, कोही एक्ली महिला देख्ने बित्तिकै उनले छेउमा भएको ढुङ्गाले हान्ने गरेका थिए। 
जेठ २५ गते पनि उनले स्मृतिलाई एक्लै देखेर ढुङगाले हानेका थिए। ढुङगाले लागेर अचेत भएकी स्मृतिको त्यही चोटका कारण मृत्यु भएको हो। 
अखिलेशले अहिलेसम्म सात ठाउँमा केटीहरुलाई यसरी नै ढुङगा हानेको बताएका छन्। प्रहरी समक्ष अखिलेशले दिएको बयानमा उनले पोखराको मिलनपथ, प्रदर्शनी मार्ग, नयाँ बजार, बगालेटोल, बिरौटा, शिवालय चोकमा ढुङगा हानेर महिला घाइते बनाएको खुलेको हो। 
प्रहरीले कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानमा मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।  (प्रतीकात्मक फोटो साभार : AdinaVoicu)
 

 
 
