रत्ननगर (चितवन) : चितवनको कालीखोलामा पहिरो खसेर अवरुद्ध भएको मुग्लिन सडक खुलेको छ।
राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र मानिएको कालीखोलामा पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएकोमा ८ बजेदेखि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सुक्खा समयमा समेत पहिरो खस्दै आएको कालीखोलामा रातभर परेको वर्षापछि पुनः पहिरो खसेको हो।
पहिरोका कारण चितवनबाट काठमाडौं र पोखरा जानेआउने सयौं सवारी र यात्रु प्रभावित बनेका थिए।
कालीखोलामा नै अघिल्लो साता सडकको जीर्ण अवस्थाका कारण एउटा यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो। नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले खनेको स्थानमा सामान्य पानी पर्दासमेत पहिरो खस्दै आएको छ।