PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

स्क्रब टाइफसको संक्रमणबाट बालिकाको ज्यान गयो, मध्य तराईका तीन जिल्लामा २१ संक्रमित



राधेश्याम पटेल

स्क्रब टाइफसको संक्रमणबाट बालिकाको ज्यान गयो, मध्य तराईका तीन जिल्लामा २१ संक्रमित

वीरगन्ज : मध्य तराईमा असारको अन्तिम सातादेखि देखिएको स्क्रब टाइफसको संक्रमणबाट अहिलेसम्म एक बालिकाको मृत्यु भएको छ।
 
अस्पतालमा उपचारका लागि ल्याइएका मध्ये रौतहट धरमपुर–४ की ७ वर्षीया रतुशनाज खातुनको मृत्यु भएको हो। उपचार सम्भव नभएपछि अन्य दुई बिरामीका अभिभावकले उनीहरुलाई घर फिर्ता लगेका छन्।
 
भदौ ८ मा अस्पतालको आइसियु कक्षमा भर्ना भएका अर्का रोगी रौतहट, समनपुर–३ का १३ वर्षीय बालकलाई भने हाल जेनरल वार्डमा सारिएको छ।
 
हालसम्म उपचार गराउन ल्याइएका मध्ये एक बिरामीबाहेक सबै बालबालिका छन्। उनीहरु ६-७ देखि १३-१४ वर्ष उमेर समूहका रहेको नेशनल मेडिकल कलेजका चिकित्सक डा. अतिन्द्र मिश्रले बताए। पर्साभन्दा बारा र रौतहटमा बढी संक्रमित फेला परेको पनि उनले जानकारी दिए।
 
कलेजमा मात्रै पर्सा, बारा र रौतहटबाट २१ बिरामी उपचार गराउन आइसकेका छन्। अहिले पनि अस्पतालमा दुई जना बिरामी उपचाररत रहेको अस्पतालका प्रवक्ता सेराज अहमदले जानकारी दिए।
 
मनवा-९ का १० वर्षीय एक बालक दुई दिनसम्म वीरगन्जको एडवान्स अस्पतालमा उपचार गराई कलेजमा आएर उपचार गराइरहेका छन्।
 
'असोज लागेपछि बिस्तारै चिसो बढ्दै गएपछि यो रोगका बिरामी कम हुन्छन्,' डा. मिश्रले भने, 'जाडोमा घरबाहिर कम बसिन्छ र जाडो छल्न न्यानो लुगा लगाउने गर्नाले यो रोग सर्ने सम्भावना कम हुन्छ।'
 
नेपालमा यो रोग फैलिरहेकाले सर्तक रहन र समयमै उपचार गराउन चिकित्कहरुले सुझाव दिएका छन्। सहरभन्दा ग्रामीण भेगका बालबालिकामा यो रोगको संक्रमण बढी देखिएको छ।
 
गतवर्ष पनि यही अस्पतालमा ३५ जना स्क्रब टाइपसका रोगी उपचारका लागि आएकोमा दुई जनाको मृत्यु भएको थियो । ‘थम्बो क्युलिट माइट्स’ नामक सानो आकारको संक्रमित किर्ना, भुसुना, सुलसुले वा उपियँले टोकेपछि यो रोग लाग्ने गर्छ।
 
बिरामीलाई ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीमा पीडा हुने, कफ र वायुविकार, मिर्गौला निष्क्रिय हुने यो रोगका लक्षण हुन्।

(फोटो : slideshare.net)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell