काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा एमाले उपाध्यक्ष भीम रावलले हस्तक्षेपकारी प्रवृत्ति देखाएका छन्।
समितिले गर्न लागेको निर्णय क्रममा उनले भाषासमेत संशोधन गर्न समितिका सभापति प्रभु शाहलाई दबाब दिए।
सरकारले चीन र भारतमा विशेष दूतका रुपमा दुई उपप्रधानमन्त्रीलाई 'सम्बन्ध सुधारका लागि' पठाइएको सभापति शाहले जानकारी गराएका थिए। तर, रावलले भने उक्त शब्दमा आपत्ति जनाउँदै 'सम्बन्ध सुदृढ र सुमधुर बनाउन' राखिनुपर्ने जिकिर गरेका थिए। पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रलाई ध्यान दिई निर्णय गर्न पनि उनले सुझाए।
केही बेर चर्काचर्की परेपछि सभापतिले सबैको सुझावका आधारमा निर्णय लिइने जानकारी गराएका थिए।
केही दिनअघि बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र रावलबीच चलेको 'जुहारी'को सन्दर्भलाई पनि अन्य सांसदले उप्काएका थिए।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भदौ २ गते भारत भ्रमणमा गएका थिए भने उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा साउन ३१ गते चीन गएका थिए। समितिले छलफलका लागि दुवैलाई समेत आज डाकेको थियो।