
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्सले इटलीलाई पराजित गरेको छ। स्पेनले बेल्यियमलाई हराउँदा नेदरल्याण्ड्स भने ग्रिससँग पराजित बन्न पुग्यो।
युरो २०१६ को उपविजेता फ्रान्सले इटलीलाई उसैको मैदानमा ३-१ ले हरायो। फ्रान्सको जितमा ओलिभर जिरुड, एन्टोनी मार्टियल र लाभिन कुर्जपाले गोल गरे। इटलीका ग्राजियानो पेल्लेले एक गोल गरे।
अर्को खेलमा डेभिड शिल्भाको २ गोल मद्दतमा स्पेनले बेल्जियमलाई २-० ले हरायो। शिल्भाले दुवै हाफमा १-१ गोल गरे।
युरो २०१६ को च्याम्पियन पोर्चुगलले जिब्राल्टर माथि ५-० को सहज जित निकाल्यो। स्टार खेलाडी रोनाल्डोबिनै खेलेको पोर्चुगलका लागि नानीले २ गोल गरे भने जाओ कान्सलो, बर्नार्डो शिल्भा र पेपेले १-१ गोल गरे।
यता पछिल्लो समय स्तर खस्किँदै गएको नेदरल्याण्ड् भने ग्रिससँग पराजित भएको छ। युरोकपमा छनोट हुने नसकेको डच टोली एक गोलको अग्रता लिएर पनि ग्रीससँग २-१ ले पराजित भएको हो। जर्जिनिओ विज्नाल्डमले गोल गर्दै नेदरल्याण्ड्सलाई पहिले अग्रता दिलाएका थिए। तर ग्रिसका कोन्सटानटिनोस मिट्रोग्लु र जियनिस जियनिटोसले गोल गरेपछि डच टोली स्तब्ध बनेको हो।