PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

यस्ता संवेदनाहीन प्रेमी, जसले आफ्नै प्रेमिकामाथि बलात्कार गर्न साथी गुहारे



सविन ढकाल

यस्ता संवेदनाहीन प्रेमी, जसले आफ्नै प्रेमिकामाथि बलात्कार गर्न साथी गुहारे

काठमाडौं : भदौ ८ गते बिहान ८ बजेतिर संगीता पाठक (नाम परिवर्तन) कुम र ढाडमा च्यातिएको लुगा, चिथोरिएको शरीर लिएर कोहलपुर इलाका प्रहरी कार्यालय पुग्छिन्। प्रहरी कार्यालयमा पुगेर पनि उनी केही बोल्न सक्दिनन्। उनका आँखा आँसुले लछप्पै भिजेका छन्। उनको दर्दनाक अवस्था देखेर एक महिला प्रहरी बिस्तारै सोध्न थाल्छिन्-
 
'के भयो तिमीलाई? कसले के गर्‍यो?'
 
सुरुमा खुल्न नसकेकी उनी बिस्तारै सुनाउँदै जान्छिन्, आफू बलात्कारमा परेको कारुणिक कथा।'

 
***
भदौ ७ गते राति करिब ११ बजेतिर संगीता साथीको जन्मदिन मनाएर फर्कने क्रममा हुन्छिन्। त्यही बेला जंगल नजिकैबाट फुत्त निस्किएको युवकले उनीमाथि बलात्कार गर्छ।
 
फिल्मको कुनै दृश्यजस्तो लाग्ने यो यथार्थ संगीता सुनाउँछिन्, प्रहरीसामु।
 
घटनापछि प्रहरीले नै उनको स्वास्थ्य परीक्षणको लागि अस्पताल पुर्‍याउँछ। एक टोली घटनास्थलतर्फ लाग्छ। झारपात माडिएको उक्त ठाउँमा प्रयोग भइसकेको कण्डम फेला पार्छ प्रहरीले।
 
प्रहरी अभियुक्तको खोजीमा लाग्छ। बलात्कारको घटनापछि नै गाउँका दुई युवा मनिराम कुमाई र उनका साथी कुले भनिने कुशल राणा बेपत्ता भएकाले प्रहरीलाई अझ सजिलो हुन्छ।
 
दुवै प्रहरी फन्दामा परेपछि अनुसन्धान र केरकार सुरु हुन्छ। अन्तत: खुल्छ- मनिराम र पीडित संगीताबीचको प्रेम सम्बन्ध।
 
दुई वर्षदेखि यी दुई प्रेम सम्बन्धमा थिए। केही समयमा नै विवाह गर्ने सहमति समेत भएको थियो।
 
मनिरामले संगीतालाई यौन सम्बन्धका लागि पटकपटक आग्रह गरे पनि संगीताले इन्कार गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ। तर मनिरामले रिसाँउदै, घुर्क्याउँदै र धम्की दिँदै विवाहअघि नै यौन सम्बन्ध राखिछाड्ने जिकिर गर्न छाड्दैनन्।
 
अन्तत: उनीबाट चेतावनी आउँछ- आफूलाई नदिए अरु केटालाई लगाएर बलात्कार गराउँछु।
 
यौन उन्मादले रन्थनिएका मनिराम योजना बनाउन थाल्छन्। कतिसम्म भने आफ्नै प्रेमिकासँग जबरजस्ती यौन सम्पर्क राख्नका लागि साथीलाई आग्रह गर्छन्।
 
योजनाअनुसार कुशल राणालाई संगीतालाई 'बलात्कार' गर्न उक्साउँछन्। कुशल यसका लागि तयार बन्छन्।
 
योजना पूरा गर्न यिनै दुई साथी रातको समय बाटोमा ढुकेर बस्छन्। र, घर फर्किरहेकी संगीतालाई कुशलले नियन्त्रणमा लिई बलात्कार गर्न थाल्छन्। प्रेमी मनिराम पर छेलिएर सबै दृश्य नियाल्न थाल्छन्।
 
कुशलले पहिले कण्डम प्रयोग नगरी र पछि प्रयोग गरेर यौन सम्पर्क राखेको खुल्न आएको डिएसपी सुरेश काफ्लेले बताए। यी दुवै अभियुक्त अहिले कोहलपुर प्रहरीको नियन्त्रणमा छन्। (प्रतीकात्मक स्केच : newsnation बाट)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell