
पेसावर (पाकिस्तान) : पाकिस्तानको मर्दान सहरमा अवस्थित एक जिल्ला अदालतमा आज बिहान भएको बम आक्रमणमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै ४० जना घाइते भएका छन्।
पाकिस्तानमा भएका पछिल्ला केही आक्रमण कानुनी क्षेत्र लक्षित रहेको छ।
बिहानको समयमा अदालतमा जम्मा भएका सर्वसाधारणलाई लक्ष्य गरी हाते ग्रिनेड फ्याक्नुको साथै आत्मघाती आक्रमण भएको वरिष्ठ प्रहरी अधिकारी फैसाल सिहजादले जानकारी दिएका छन्।
आक्रमणमा परी दुई प्रहरी अधिकारीको समेत मृत्यु भएको छ। आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन। पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भीषण आत्मघाती आक्रमण भएको तीन हप्तापछि पुनः आक्रमण भएको हो।
क्वेटा सहरमा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा भएको आत्मघाती आक्रमणमा दर्जनौं वकिलसहित ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
आतङ्ककारीहरुले आज नै प्रान्तीय राजधानी पेसावरको खैवर पख्तुनख्वा प्रान्तको क्रिश्चियन कोलोनीमा पनि आक्रमण गरेका छन्। रासस/एएफपी