PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

माओवादी नेताको शरीरमा एक दशकदेखि गोलीका खोका



रासस

इलाम : सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन्।
 
सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ (हाल देउमाई नगरपालिका) तपेवाका राम राई र जोगमाई–२ का तेजबहादुर राई अहिले पनि शरीरमा गोली बोकेर हिँड्न विवश छन्। रामको दुवै खुट्टामा गोली लागेको थियो भने तेजबहादुरको दाहिने खुट्टामा एउटा गोली छ।
 
'जनताको न्यायका लागि युद्धमा होमियौँ तर आज आफ्नै शरीरमा भएको गोली पनि निकाल्न नसक्ने स्थितिमा छौँ,' रामले भने, 'उपचारका लागि धेरैतिर धाए पनि उपचार हुन सकेन।'
 
तेजबहादुरलाई शान्तिपुर गाविसको बदमटारमा र रामलाई दोहोरो भिडन्तका क्रममा चारवटा गोली लागेको थियो।
 
'गर्मी र चिसोको समयमा अत्यधिक दुख्छ, खप्नसमेत गाह्रो पर्छ,' तेजबहादुरले आफ्नो पीडा सुनाउँदै भने, 'गोली निकाल्न धेरै जटिल र जोखिम व्यहोर्नुपर्छ भनेपछि शरीरमा बोक्न बाध्य छौँ।'
 
तेजबहादुरको खुट्टामा एलएमजीको गोली लागेको थियो।
 
डाक्टरले नै प्यारालाइसिस र क्यान्सरको सम्भावना हुन्छ भनेपछि गोली निकाल्न नमानेको राम बताउँछन्। माओवादी केन्द्रका जिल्ला नेता उनीहरु आफ्नै पार्टीको नेतृत्वमा सरकार बने पनि आफूहरूको उपचारमा सहयोग नभएको गुनासो गर्छन्।
 
सशस्त्र द्वन्द्वका क्रममा इलाममा १९७ जनाको मृत्यु भएको थियो। २९ जना अङ्गभङ्ग, ५८१ जना विस्थापित, ४० वटा गाविस भवनसहित ७८ वटा भौतिक संरचना क्षति, ४३४ जना बालबालिका प्रभावित भएको मानव अधिकार सञ्जाल तथा शान्ति कार्यसमूह प्याग नेपालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell