
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको टीकापुरमा गतवर्ष भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिको सुझावअनुसार अगाडि बढ्ने बताएका छन्।
थारु राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले निर्दोषलाई दुःख दिने विषय आफूलाई स्वीकार्य नभएको भन्दै आयोगले दिने प्रतिवेदनमा कोही दोषी देखिए कारबाही हुने बताए।
सरकारले गृह मन्त्रालयमार्फत तराई–मधेसमा भएको आन्दोलन र क्षतिको विषयमा छानबिन गरिरहेको उल्लेख गर्दै उनले अनावश्यक रुपमा दुःख दिने कार्य तत्काल रोक्न समेत आफूले निर्देशन दिइसकेको जानकारी गराए।
संविधानले गरेको व्यवस्थाअनुसार नै राज्यका हरेक निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वका लागि प्रमुख राजनीतिक दलसँगको सहमतिका आधारमा अगाडि बढिने प्रधानमन्त्रीको भनाइ थियो।
मोर्चाले सुकुम्बासी, कमैयाको समस्या समाधान गर्न, समावेशी तथा समावेशी प्रतिनिधित्व लागू गर्न र स्थानीय निकायको पुनःसंरचनाको विषयमा देखिएको विवाद तत्काल समाधान गर्न आग्रह गरेको थियो।
यस्तै बर्दियाको राजापुर बजार व्यवस्थित गर्न समेत मोर्चाले माग गरेको छ । कालीकोट, अछाम, जुम्ला, जाजरकोटको बजारका रुपमा परिचित राजापुर बजारको स्थायी नाप नक्सा गर्न लामो समयदेखि रोकिएको लालपुर्जा वितरण प्रक्रिया तत्काल सुरु गर्न माग गरिएको मोर्चाका नेता सन्तकुमार चौधरीले बताए।