PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

प्रमका राजनीतिक सल्लाहकार भन्छन्- 'प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि संविधान संशोधन



पहिलोपोस्ट

प्रमका राजनीतिक सल्लाहकार भन्छन्- 'प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि संविधान संशोधन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले प्रधानमन्त्रीको भारत र अमेरिकाको भ्रमणलगत्तै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन्।
 
आज राजधानीमा भएको एक कार्यक्रममा बोल्दै खनालले संविधान संशोधनबारे बहस जारी रहेकोले केही समय लाग्ने हुँदा प्रधानमन्त्री भारत जानुपूर्व उक्त प्रक्रिया अघि बढ्न नसक्ने स्पष्ट पारे। ‘हाम्रो चाहना प्रधानमन्त्रीज्यु भारत भ्रमण जानुअघि नै प्रक्रिया अघि बढाउने थियो, तर त्यसो हुन सकेन,' उनले भने, 'अब उहाँ भारत र संयुक्त राष्ट्रसंघको भ्रमण सकेर फर्किएलगत्तै संशोधन प्रक्रिया अघि बढाउँछौं।’
 
मधेसको मुद्दा सम्बोधन गर्ने कुरामा आफ्नो पार्टी अत्यन्तै गम्भीर रहेकोको समेत उनले बताएका छन्। ‘मधेसको मुद्दा सम्बोधन गर्नुपर्छ, हाम्रो पार्टीले त पहिलेदेखि नै यो विषयमा गम्भीर रुपमा कुरा उठाउँदै आएको छ,' खनालले भने, 'कांग्रेसले पनि यही कुरा भनेको छ।’
 
संविधान कार्यान्यवयनका लागि माघ ७ भित्रै तीनवटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै उनले फागुन अन्तिमसम्म स्थानीय निकायको चुनाव हुने विश्वास व्यक्त गरे।
 
स्थानीय निकाय पुनर्संरचना आयोगले अघि सारेको संख्यामा केही तलमाथि हुने बताउँदै खनालले दलीय सहमतिबाट आयोगलाई सुझाव दिने जनाए। ‘आयोगको प्रारम्भिक अवधारणा हामीले हेर्‍यौं। यो संख्या अलिक थोरै भयो भन्ने हामीलाई लागेको छ,' उनले भने, 'तर यसमा आयोग र सरकारबीच कुनै असमझदारी रहेको छैन।'
 
संविधान संशोधनको लागि एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।
 
प्रचण्ड नेतृत्वको वर्तमान सरकार विस्थापित भएमात्रै एमालेले संविधान संशोधनमा सघाउने नभए सहयोग नगर्ने अडान लिएको छ नि? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘हामी चाहन्छौं राष्ट्रिय सहमतिको सरकार बनोस्, त्यसो भयो भने सहमति खोज्न सजिलो हुन्छ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell