PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

'हरियो नम्बरप्लेटका गाडीले गैरपर्यटक बोके तत्काल कारबाही'



पहिलोपोस्ट

'हरियो नम्बरप्लेटका गाडीले गैरपर्यटक बोके तत्काल कारबाही'

काठमाडौं : यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हरियो नम्बरप्लेटका सवारी साधनमा गैरपर्यटक बोक्न नपाइने बताएका छन्। पर्यटन पत्रकार संघ (जाट) नेपालले गरेको ʽफेस टु फेसʼ कार्यक्रममा महानिर्देशक श्रेष्ठले पर्यटक र गैरपर्यटकको स्पष्ट पहिचान गरी सवारीमा आवतजावत गराउनुपर्ने बताए।

ʽपर्यटक गाडीले पर्यटक बोक्न पाउँछ। विदेशी, स्वदेशी कस्तो प्रकारको पर्यटक हो त्यो परिभाषित हुनुपर्‍यो,' श्रेष्ठले भने, ʽहरियो सवारीमा चढेर स्वदेशी पर्यटक स्वर्गद्वारी पनि जान पाउनुहुन्छ, सौराहा पनि जान पाउनुहुन्छ। तर निजीले पर्यटकलाई भाडामा बोक्न पाइँदैन, त्यस्तो भएमा कारबाही हुन्छ।ʼ

बिहान-बेलुका झोला बोकेर हिँड्ने मानिस पर्यटक नहुने भन्दै श्रेष्ठले भने, ʽससुराली जाँदा नि पर्यटक हुने, मावली जाँदा नि पर्यटक हुने? योचाँहि हुनै सक्दैन।ʼ
 
विभागले छिट्टै व्यावसायिक सवारी र निजी सवारीमात्र भनेर दर्ता गर्ने व्यवस्था गर्न लागेको उनले जानकारी गराए।
 
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले घरबाट निस्केर गन्तव्यतर्फ जाने र केही पैसा खर्च गर्ने व्यक्ति पर्यटक भएको बताउँदै गन्तव्यको छविमा नकारात्मक असर गर्नेगरी निर्णय नलिन ध्यानाकर्षण गराए।
नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले असन्तुष्टि राख्दै राज्यलाई पर्यटन उद्योग नचाहिने हो भने बन्द गरिदिन आग्रह गरे। ʽयदि राम्रोसँग सञ्चालन गर्ने हो भने आवश्यक नीति लिन जरुरी छ,' उनको भनाइ थियो।
 
टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष श्रीकान्त आचार्यले गैरपर्यटकको परिधि स्पष्ट पारिदिन सरकारसँग माग गरे।
टानका महासचिव कर्ण लामाले पर्यटकीय सवारी साधनको अभाव भएको समयमा रातो नम्बर प्लेट सञ्चालनमा ल्याउन पाउनुपर्नेमा जोड दिँदै आन्तरिक पर्यटकका लागि ʽडि टिम्सʼ लागू गर्न सकिने धारणा राखे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell