बसपार्कबाट बिहान सात बजे हिंडेको बस साढे नौ बजेसम्म उपत्यकाभित्रै अडकिएको थियो। बस त्रिभुवन पार्क र नागढुंगाका बीच कतै जाममा थियो। बसको झ्याल झ्यालमा यात्रुहरुको सुविधाका लागि वाइफाई जडान भएको जानकारी टाँसिएपनि मोवाइल सेटमा वाइफाईको संकेत थिएन। बस बाहिर स्थानीय मानिसहरु गाडी जामको फाइदा उठाएर पानी र कुरकुरेको व्यापारमा लागेका थिए। भदौरे घामको तातोले सबै यात्रुको तालु पोलिरहेको थियो। विभिन्न थरि मानिसका विभिन्न थरी गन्धले घेरिएकी कनिका बसको सीटमा कुचु्रक्क परेर बसेकी थिई। उसलाई बसको सीटदेखि सुविधासम्म केही मन परेको थिएन। तर, पव्लिक बसमा यात्रागर्ने चाहना उसकै थियो।
जीवन सँधै दरबार मार्गको शपिङ विन्डोज त हुँदै होइन। ऊ सोच्दै थिइ, बसमा यात्रा गरिरहेका कतिपय मानिसका लागि दरवार मार्ग त इल्युजनमात्रै हो। असंख्य जीवनकोे वास्तविकता त यही बस हो। कनिका आफनो मनलाई सम्झाउँदै थिइ, उता बसमा घुसेको लामखुट्टेले उसको गोडा र पिँडौलामा कुटुक्क टोक्दै थियो। बेला बेलामा उ रन्थिनिन्थी। के भएको हो? किन जाम भएको हो? उसलाई खुलदुली लागि रहेको थियो । तर, को सित सोध्ने? ऊ रनभुल्लमा परेकी थिइ।
उसले देखी, एकजना मानिस जाम भएतिरबाट आउँदैछ। उसले झ्यालबाट आफनो मुण्टो वाहिर लगेर त्यो मानिसको ध्यानाकर्षण गराइ, ‘अंकल, किन भएको रहेछ यो जाम? केही थाहा पाउनु भो?’
उसले जवाफ दियो, ‘एउटा लोड गाडी बिग्रेर सडकको वीचमा अलपत्र परेको रहेछ। यो बाटोमा जाम हुने कारण त्यही त हो नि नानी।’
कनिकाले विदेशी टेलिभिजन च्यानलमा धेरैपल्ट हाइवेमा अचानक बिग्रिएका गाडीलाई पुलिसले टो गरेर लगेको दृश्य देखेकी थिइ। आफनै देशको हाइवेमा के हुन्छ? उसलाई अनुभव थिएन। यो उसको पहिलो हाइवे यात्रा थियो।
एक्सेल भाँचिएर अलपत्र परेको त्यो लोड गाडीलाई सडकबाट पन्छाउन पुलिसहरु सक्रिय थिए। एउटा डोजरले लोड गाडीलाई सडक किनारातिर धक्याउँदै थियो। झण्डैै ११ बजेतिर जाम खुल्यो। कनिका ढुक्क भइ। बस विस्तारै अघि वढ्यो र स्पीड लिन लाग्यो।
नौबिसेबाट केही अगाडि बढेपछि बस रोकियो। कण्डक्टरले यात्रुहरुलाई खाना खाने सूचना दियो। कनिका पनि बसबाट ओर्लिएर एउटा होटेल अगाडि ठिंग उभिइ। होटेल आधी फोहोर थियो र आधी सफा। पोहोर साल सरकार हाइवे होटेल चेकिंगमा निस्किंदा यो होटलले पाएको ग्रीन स्टीकरलाइ झिंगाले विरुप बनाइसकेका थिए। कनिका होटलको दृश्यावलोकन गर्दैथिइ। बसका केही खाइलाग्दा युवकहरु कनिकालाई हेर्दै थिए। कनिकाले आफनो मोवाइल क्यामराले होटेलका विभिन्न परिकार र दृश्यहरुको फोटो खिची। केही शव्दहरु सम्झिइ। उसलाई त्यो होटेलमा केही खान मन लागेन। ऊ आफनो ममीले रुक्स्याकमा राखी दिएको ड्राइ फ्रुटमा रमाउन थाली।
यात्रीहरुले खाना खाएपछि बस हिंड्यो । गल्छी, बैरेनीहुँदै मध्यम गतिमा हिंडिरहेको कनिकाको बस आदमघाट पुगेपछि अचानक ध्याच्च रोकियो। यसरी बस रोकिंदा धेरै यात्रीको टाउको आफू अगाडिको सीटमा ठोकियो। के भयो के भयो भनेर आत्तिएका यात्रुहरुले थाहा पाए, एक मिनट अघिमात्र बसलाई तिव्र गतिमा ओभरटेक गर्दै गएको माइक्रो बस उताबाट आइरहेको लोड गाडीसंँग ठोकिएर चकनाचूर भएको थियो। माइक्रोमा चढेका एकजना यात्रु पनि सावूत थिएनन्। तीनजना केटाकेटीको टाउको फुटेको थियो। सबै गम्भीर हिसाबले घाइते थिए।
कनिका दृश्य देखेर नराम्रोसंग आत्तिइ। उसका आँखाबाट बररर झरे आँसुका थोपाहरु। तर, उसले होस गुमाइन। भटाभट तस्वीर खिच्न थाली। झण्डै एक घण्टापछि पुलिस र एम्वुलेन्स आयो। त्यसबेलासम्म स्थानीय मानिस र कनिका चढेको बसका यात्रुले घाइतेहरुलाई गाडीको चेपबाट निकालेर बाहिर राखेका थिए। ती मध्ये तीनजनाको अवस्था क्रिटिकल थियो। ड्राइभरको टाउको फुटेको थियो र उसको आँखा बाहिर निस्किएको थियो।
दुर्घटनापछि बस हिडने टुंगो भएन। कनिकाले वरपर हेरी र देखि एउटा कफी शप। आफनो झोला बोकेर ऊ त्यतैतिर लागि। कफी शपको वातावरण सामान्य भएर पनि असामान्य थियो। कनिका त्यो वातावरणमा रमाउने मूडमा थिइन। ऊ ब्रेकिङ न्यूज लेख्न चाहन्थी। उसले सुदिप्तीलाई फोन गरी र दुर्घटनाको विवरण सुनाइ। त्यसपछि आफना आँशुले अक्षरहरुलाई भिजाएर बडो संवेदनशील समाचार लेखी। तथ्यहरु दोहोर्याएर चेक गरी। कफी शपमा वाइफाइ थियो। उसले समाचार र तस्वीरहरु मेल गरी। त्यसपछि सिगरेट सल्काइ, एक सर्को तानी र कफीको लामो सीप लिइ।
बिहान सात बजे हिंडेकी कनिका चितवन पुग्दा रातिको नौ बजिसकेको थियो। ऊ भरतपुर छेउको एउटा होटलमा बसी र ड्याडी ममीलाई आजको घटना सुनाउँदै भनी, ‘ड्याड, इट वाज हरिफिक....देयर वाज नो ट्राफिक रुल्स एण्ड रोड डिसिप्लिन।’
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
यो सिरिजका अन्य गाथा-
- भुईँचालो महोत्सव
- मायाको ग्यारेन्टी
- आमा र मायाको मौसम
- अमरपंक्षीमा हम झण्डु वाम हुए डार्लिङ...
- हेर्ने होइन हाँस्ने न्युज
- सपनाको प्रत्यक्ष प्रसारण
- लाग्यो चार्ली कतारतिर
- म जाने दरवारमार्ग, तिमी गयौ विदेशतिर
- मनमा गडेको माया
- म हराउँ त तिम्रो स्क्रिनबाट?
- तिम्रो महिना कति विकको हुन्छ चार्ली?
- ऊ नै नभएपछि के को मज्जा?
- फर्कियो चार्ली कतारबाट
- कति रोमान्टिक भएको तिमी!
- सिमसिम पानीमा सहर
- शरीरमा अभिव्यक्त नहुने प्रेम त के प्रेम
- रिपोर्टर कनिका
- ट्राफिकमा कनिका
- हाइवेमा कनिका