
- सन्तोष पुर्कुटी
घरभित्रै पुरिएर मृत्यु हुनेमा टीका मगरकी श्रीमती विमला, छोरा मनोज र ललित छन्। उनीहरु घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरो झरेर घर भत्काएको थियो। राति नै पहिराले घर भत्किएको स्थानीयवासीले थाहा पाए पनि रातको समयमा भीषण वर्षाकै कारण उद्धार हुन सकेको थिएन। उनीहरुको शव अहिले बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निकालेको प्रजिअ चक्रपाणि पाण्डेले जानकारी दिए।
यस्तै ताप्लेजुङ नगरपालिका–८ मा पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन्। नाम नखुलेकी माइली सुब्बा भनेर चिनिने महिला बेपत्ता भएकी हुन्। उनीसँगै बस्दै आएकी कान्छी सुब्बा भनेर चिनिने अर्की महिला भने घाइते छिन्।
पहिराका कारण यहाँका दर्जनौँ घरमा क्षति पुगेको छ। ठाउँ ठाउँमा पहिरो झरेपछि मेची राजमार्ग समेत अवरुद्ध बनेको छ। पहिरोका कारण नगरपालिका–८ का भुवानीशङ्कर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगतबहादुर मगर, गुरुप्रसाद विक, सोमबहादुर विक र गङ्गामाया भट्टराईको घरमा क्षति पुगेको छ।
यस्तै नगरपालिका–२ केनिममा नेत्रप्रसाद भट्टराईसहित अन्य ६ घरमा पहिरोले क्षति पुर्याएको स्थानीयवासीले बताएका छन्। सोही क्षेत्रमा पर्ने अँधेरी भन्ने ठाउँमा दुवैतर्फ पहिरो झरेपछि त्यहाँका तीन परिवार सुरक्षित स्थानमा निस्कन नसकेको बताइएको छ।
पहिरोग्रस्त क्षेत्रमा पुग्न सडक अवरुद्ध रहेकाले उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली अहिले परिचालन गरिएको छ। पहिरो गएका कारण स्थानीयावासी रातभर सुरक्षित स्थानमा जाग्राम बसेका थिए। अहिले पनि त्यस क्षेत्रमा वर्षा जारी छ भने पहिरो पनि झरिरहेको स्थानीयवासीले टेलिफोन मार्फत बताएका छन्। रासस (फोटो : himshikhartv बाट)