काठमाडौं : बागमती सफाइ महाअभियानको १७३औँ हप्तामा टेकु पुलमुनिको बागमती क्षेत्रबाट आज ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
निजामती कर्मचारी दिवसको अवसरमा आजको सफाइमा मुख्यसचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा करिब पाँच सय कर्मचारीको सहभागिता थियो। पूर्व मुख्यसचिव लीलामणि पौडेल, सङ्घीय मामिला तथा स्थानीय विकास सचिव केदारबहादुर अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, खानेपानी तथा सरसफाइ सचिव डा. सञ्जय शर्मा, पूर्वसचिव सुरेशप्रकाश आचार्य, जयमुकुन्द खनाल, माधव रेग्मी, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायत विभागीय प्रमुखको सफाइमा सक्रियता रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले जानकारी दिए।
सफाइका क्रममा मुख्यसचिव सुवेदी नेतृत्वको समूहले टेकु वरपरका घरघरमा छिरेर 'नदीमा फोहर नफालौँ, फाल्नेलाई कारबाहीका लागि नजिकको प्रहरी अथवा काठमाडौँ महानगरपालिकालाई खबर गरौँ, बागमती सफाइमा सबै सहभागी बनौँ' भनी जनचेतनामूलक अभियान समेत सञ्चालन गरेको थियो।
सफाइमा बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मल्पी एकेडेमी लगायतका सङ्घ संस्थाका गरी एक हजारभन्दा बढीको सहभागिता थियो।
यसैगरी रुद्रमती सफाइको १३२ औँ हप्तामा ज्ञानेश्वरदेखि गौशालासम्म सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। विष्णुमती सफाइको १०८ औँ हप्तामा बालाजु पुल आसपास सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए।
बागमती समितिले कोटेश्वर महादेव मन्दिर आसपासको बागमती नदी किनारमा आज कपूर, बेल, निमलगायत जातका सय बिरुवा रोपिएको छ। वृक्षरोपणमा पूर्वमन्त्री अग्नि खरेल लगायत स्थानीयवासीको सक्रियता रहेको थियो।