
बागलुङ : अनधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ। तीन महिनादेखि कागजातबिना सञ्चालित १४ विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित थिए।
‘रुट परमिट’, दर्ता र चालक अनुमतिपत्र समेत नभएपछि रिक्सा बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
विद्युतीय रिक्सा चलाउन अन्य सवारी साधनको जस्तै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ। रिक्साले सर्वसाधारणलाई सुविधा दिए पनि अनाधिकृत रुपमा चलेकाले बन्द गराउनुपरेको ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक कुलबहादुर हरिजनले बताए।
कानुनी प्रक्रिया पूरा गरेर आएमा रिक्सालाई सहज रुपमा सञ्चालन गर्न दिइने उनको भनाइ छ। बागलुङ कालिका भगवती यातायात प्रालिले सुरुमा तीन वटा विद्युतीय रिक्सा बागलुङ ल्याएको थियो। पछि राम्रो चल्ने र आम्दानी पनि हुने देखेर अन्य व्यवसायीले रिक्सा खरिद गरेर सञ्चालन गर्दै आएका थिए।
रिक्सा धनीले भने आफ्नो दैनिक रोजीरोटीको बाटो बन्द भएको प्रतिक्रिया दिएका छन्।
बागलुङमा विगत साढे दुई वर्षदेखि चालक अनुमतिपत्र वितरण रोकिएपछि नयाँ चालक मर्कामा परेका छन्। विद्युतीय रिक्सा लगायतका कुनै पनि सवारी साधानको चालक अनुमतिपत्र वितरण गरिएको छैन। पूर्वाधार र जनशक्ति अभावका कारण देखाउँदै यातायात व्यवस्था कार्यालय बागलुङले चालक अनुमतिपत्र वितरण रोकेको छ। रासस (फोटो : kaifiyat.com बाट)