काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताएका छन्।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उलने संविधान संशोधन जस्तो महत्वपूर्ण विषयमा राजनीतिक सहमति हुनैपर्ने बताए। सभापति देउवाले संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नाका लागि नै संशोधन हुन लागेको स्पष्ट पारे।
प्रतिपक्षमा रहँदा भूकम्पपीडितलाई एकमुस्ट दुई लाख दिन तत्कालीन सरकारसँग भएको सहमतिलाई किन वर्तमान सरकारले कार्यान्वयन नगरेको? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले अब यो निर्णय तत्काल कार्यान्वयन हुने दाबी गरे। 'यस विषयमा सरकारले के गरिरहेको छ, म प्रधानमन्त्रीसँग कुराकानी गर्छु,' उनको भनाइ थियो।
अर्को प्रसंगमा उनले पार्टीका नेता तथा कार्यकर्ताबीच सरसल्लाह गरी पदाधिकारी छिट्टै मनोनयन गर्ने जानकारी दिए। हाल सभापतिले पार्टी पदाधिकारीमा गर्ने मनोनयन पद रिक्त रहेको छ।
पाचनप्रणाली सम्बन्धी उपचार गराउनका लागि उनी पत्नी आरजुका साथ भदौ १० गते सिंगापुर गएका थिए। आजै उनी स्वदेश फर्किएका हुन्।
पार्टी सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक विदेश गएका हुन्। 'म नितान्त स्वास्थ्य उपचारमा गएको हुँ,' उनले भने, 'मैले त्यहाँ रहँदा कसैसँग राजनीतिक भेटघाट गरिनँ।' रासस