
तास्कन्द : उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको ७८ वर्षको उमेरमा गएराति निधन भएको छ।
गत अगष्ट २७ का दिन राष्ट्रपति इस्लामलाई हृदयाघात भएपछि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको उज्बेकिस्तानको सरकारी स्रोतले पुष्टि गरेको छ।
उज्बेकिस्तानको एउटा प्राचीन नगर समरकाण्दमा सन् १९३८ को जनवरी ३० का दिन जन्मिएका इस्लामले युवावस्थामा तास्कन्दकै सेन्ट्रल एसियन पोलिटेक्निक एण्ड दि तास्कन्द इन्स्टिच्युट अफ नेशनल इकोनोमिमा मेकानिकल ईन्जिनियरिङ र अर्थशास्त्र बिषयमा स्नातक उपाधि हासिल गरेका थिए।
अध्ययनपश्चात् उनले विमान उत्पादन गर्ने एउटा कम्पनी समूहमा मेकानिकल इन्जिनियरको पदमा केही वर्षसम्म काम गरे।
राजनीतिप्रति झुकाव रहेका कारण सन् १९६६ मा इन्जिनियरको जागिर छाडी तत्कालिन सोभियत संघको कम्युनिस्ट पार्टीमा आबद्ध भई निरन्तर लाग्दालाग्दै राज्यस्तरको उच्च नेताको तहसम्म पुगी आफ्नो राजनीतिक चरित्र निर्माण गरेका हुन्।
राजनीतिक चरित्र निर्माणकै क्रममा सन् १९८९ को जुन महिनामा पछि उनले उज्बेकिस्तान कम्युनिस्ट पार्टी केन्द्रीय समितिको प्रथम सचिवको दायित्व वहन गरेको एक वर्षभन्दा कम समयावधि १९९० मार्च २४ मा उज्बेक सोभियत सोसलिस्ट रिपब्लिकको राष्ट्रपति पदमा निर्वाचित भए।
तत्कालिन सोभियत संघ अन्तर्गत रहेको देशको सर्वोच्च नेताको हैसियतमा उनले सन् १९९१ अगस्ट ३१ का दिन उज्बेकिस्तान एक स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र भएको घोषणा गरे। त्यसपछि उनी उज्बेकिस्तान पिपुल्स डेमोक्र्याटिक पार्टीको स्थापना गरी त्यसको सर्वोच्च नेतामा चयन पनि भए।
सोही वर्ष सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उनी स्वतन्त्र उज्बेकिस्तानको प्रथम राष्ट्रपति पदमा निर्वाचित भए।
सन् १९८९ को मध्यतिर तत्कालिन सोभियत संघ टुक्रिएपछि उज्बेकिस्तान कम्युनिस्ट पार्टीले सोभियत संघआबद्ध राजनीतिक सम्बन्ध समाप्त भएको घोषणा गरेको थियो।
स्वतन्त्र उज्बेकिस्तानको सर्वोच्च पद लगातार पच्चीस वर्षसम्म सफलतापूर्वक सम्हालेका इस्लामको निधन हुनुअघिसम्म तेस्रो पटकको राष्ट्रपतीय कार्यकाल व्यतीत भइरहेको थियो।
उज्बेकिस्तानको संबिधान अनुसार यस्तो अवस्थामा तीन महिनाभित्र राष्ट्रपतीय निवार्चन सम्पन्न गर्नुपर्नेछ। नयाँ राष्ट्रपतिको चयन नभएसम्मका लागि राष्ट्रपतिले सम्हाल्दै आएका अभिभारा सर्वोच्च राज्यसभाका प्रमुख सिनेट निग्मातुल्लाह युल्दासेभले अस्थायी रुपमा वहन गर्नेछन्।
राष्ट्रपति इस्लामको दुई महिलासँग बिबाह भएको र दोस्रो पत्नीपट्टिबाट दुई छोरी छन्।
यसैबीच चीनका राष्ट्रपति सि जिन पिङले बेइजिङ्गबाट उज्बेकिस्तानको सर्वोच्च राज्यसभाका प्रमुख सिनेट निग्मातुल्लाह युल्दासेभलाई सम्बोधन गरी टेलिग्राममार्फत् आज एक शोक सन्देश पठाएका छन्। उक्त शोक सन्देशमा राष्ट्रपति इस्लामको निधनप्रति गहिरो समवेदना प्रकट गरिएको र शोकसंतप्त परिवार तथा राष्ट्रवासीप्रति हार्दिक सहानुभूति व्यक्त गरिएको छ।