
काठमाडौँ : मलेसियाको राजधानी क्वालालम्पुरमा जारी एसियाली राजनीतिक सम्मेलन (आइक्याप) महासम्मेलनका क्रममा रहेका एमाले नेता झलनाथ खनालले श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षसँग आज भेटघाट गरेका छन्।
भेट क्रममा राजापाक्षले आफ्नो कार्यकालमा नेपाल र श्रीलङ्काबीच सम्बन्ध स्थापना गर्न भएका पहल र लुम्बिनी क्षेत्रको विकासबारेमा चासो व्यक्त गरेका थिए। छलफलमा दक्षिण एसिया विकास र शान्तिका लागि सहकार्य वातावरण बनाउन नेपाल र श्रीलङ्काजस्ता देश अघि सर्नुपर्ने दुवै नेताको समान मत थियो।
नेता खनालले दुई देशबीच सिधा ‘कनेक्टिभिटी’को आवश्यकता रहेको बताएको उनका निजी सचिव कृष्ण भट्टराईले जानकारी दिए। भेटमा खनालसँग मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेत र खनालका विदेश ममिला सहयोगी योगेन्द्र शाही पनि सहभागी थिए।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले आइक्याप नेतृत्व र सचिवालय साथै बङ्गलादेशको पूर्व राष्ट्रपति हुसेन मुहमद इरसाद, जापानी कम्युनिष्ट पार्टीका अध्यक्ष कजुओ शीसँग पनि आपसी हितका विषयमा छलफल गरेका छन्।
महासम्मेललनका लागि खनालसहित नेपालबाट नेपाली कांग्रेस नेत्री सुजाता कोइराला, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत मलेसिया गएका छन्। भदौ १७ देखि सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ। रासस