PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

​प्रधानमन्त्री संविधान दिवसकै दिन अमेरिका जाने, भारतबाट फर्केको भोलिपल्टै यात्रा



रमेश वाग्ले

​प्रधानमन्त्री संविधान दिवसकै दिन अमेरिका जाने, भारतबाट फर्केको भोलिपल्टै यात्रा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'  भारतबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा निस्कने भएका छन्। आगामी भदौ ३० गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल असोज २ गते स्वदेश फर्कने छन्।

तीन दिने भारत भ्रमण सकेर असोज २ गते नेपाल फर्कन लागेका प्रधानमन्त्री दाहाल संविधान दिवसकै दिन अमेरिकाको भ्रमणमा निस्कन लागेका हुन्।

भारतको कुटनीतिक भ्रमणमा जान लागेका दाहाल अमेरिका भने राष्ट्रसंघीय महासभामा भाग लिनका लागि जान लागेका हुन्। सरकारले नै घोषणा गरेर तीन दिनसम्म भव्य कार्यक्रम गरेर संविधान दिवसको कार्यक्रम  गर्न मूल समारोह समिति नैं गठन भएको छ। तर कार्यकारी प्रमुख प्रधानमन्त्री भने दिवसको सुरुवात गर्ने दिन अर्थात २ गते भारतबाट फर्कने छन् भने मूल दिवसकै दिन पनि अमेरिकातर्फ प्रस्थान गर्दैछन्।
 
'भारत भ्रमणबारे केही तयारी पूरा भइसकेको छ, तर राष्ट्रसंघको सभामा भाग लिने विषयमा निर्णय भइसकेको छैन' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले भने, 'निर्णय नहुँदासम्म त्यसलाई निश्चित गरेर भन्न सक्ने अवस्था पनि छैन।'

नेपालबाट राष्ट्रसंघीय महासभामा सरकार प्रमुख नै सहभागी हुने अभ्यास रहेकाले प्रधानमन्त्री भ्रमणमा जाने विषय करिब पक्का नै छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले यसअघि नै भारतीय राष्ट्रपति संविधान दिवसका दिन नेपाल भ्रमणमा आउने भन्ने समाचारको खण्डन गर्दै '२ गते प्रधानमन्त्री स्वदेश फर्कने र तीन गते अमेरिका भ्रमणमा जाने' कार्यक्रम रहेको बताइसकेका छन्। 

संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका जान लागेका हुन्। राष्ट्रसंघीय महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन्।  प्रधानमन्त्री ११ असोजमा मात्र स्वेदश फर्कने छन्।
 
संविधानको व्यवस्था अनुसार न्यायालय पुनः संरचना गरी उच्च अदालतको गठन एक वर्षभित्र गरिसक्नु पर्ने छ। तर न्याय परिषद ऐन संसद्को विधायन समितिमै विचाराधिन छ। यदि असोज २ भित्र न्यायालय पुनः संरचना नभए त्यही दिनदेखि संविधान कार्यान्वयनको असफलता सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell