
काठमाडौं : नेपाली क्रिकेटमा देखिएको विवाद समाधानतर्फ अगाडी बढेको संकेत देखिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च संस्था आइसीसीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डेविड रिचर्डसनले नेपाल भ्रमण गरी प्रधानमन्त्रीसहित खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव लगायत नेपाली क्रिकेटसँग सम्बन्धीत सरोकारवालाहरुसँग भेट गरेपछि यस्तो संकेत मिलेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राखेप सदस्य सचिव केशव कुमार विष्ट, खेलकुद मन्त्री दलजित श्रीपाली, निर्वाचित क्यान समिती लगायतका व्यक्तिहरुसँग भेट गरेपछि डेविड रिचर्डसनको टोलीले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेटको विवाद समाधन गर्न सुरुमा एड्भाइजरी कमिटी गठन गर्ने बताएका छन्।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा रिचर्डसन सहितको टोलीले प्रधानमन्त्री प्रचण्ड लगायत सरोकारवालासँग भेट गरेका थिए। त्यसक्रममा नेपाल क्रिकेट संघ विघटन गरि नेपाल क्रिकेट बोर्ड गठन गर्ने विषयमा छलफल भएको थियो।
छलफलपछि वर्तमान क्यानको विघटन गरी ६ सदस्यीय बोर्ड गठन गर्ने र त्यसपछि नयाँ चुनाव मार्फत नयाँ कमिटी गठन गरेपछि नेपाली क्रिकेटको निलम्वन हट्नेछ। तर यसको लागि विभिन्न चरणमा प्रक्रिया पुरा गर्नुपर्नेछ।
एड्भाइजरी कमिटी गठन
राजधानीको सोल्टी होटलमा आइतबारै भएको पत्रकार सम्मेलनमा आइसीसीका सिईओ रिचर्डसनले नेपा क्रिकेट बोर्ड गठन गर्नु अघि सुरुमा एड्भाइजरी कमिटी गठन गर्ने बताएका छन्। सिईओ रिचर्डसनसँगै आएका तीन सदस्यीय आइसीसी टोलीले पत्रकारसँगको भेटघाटमा सो कुरा उल्लेख गरेको हो।
आगामी दुई साता भित्रमा उक्त कमिटी गठन गर्ने उल्लेख छ। अमर शेखको नेतृत्वमा गठन हुने उक्त कमिटीमा नेपाल सरकार पक्ष, राखेप र क्रिकेट सरोकारवाल पक्ष सम्मिलित हुनेछ। आइसीसीका ग्लोबल डिरेक्टर टीम एण्डरसनले राजिनामा दिएपछि अर्को व्यक्ति नआएसम्म उनको स्थानमा अमर शेखले काम गर्नेछन्।
यस कमिटीले वर्तमान क्यानको विधान पुनरावोलकन गर्नेछ। त्यसपछि विधान संशोधन गर्न आवश्यक भए संशोधन गर्ने र नयाँ बनाउनुपर्ने भए नयाँ बनाउने भनेर आइसीसीलाई सुझाव दिने कुरा रिचर्डसनले बताए।
त्यसपछि नेपाल क्रिकेट बोर्डको गठन हुनेछ। नयाँ क्रिकेट बोर्डको गठन गर्दै नयाँ कमिटी गठन गरेसँगै नेपाली क्रिकेटको निलम्वन पनि फुकुवा हुनेछ।
पत्रकार सम्मेलनमा रिचर्डसनले आइसीसीको निकै सम्भावना भएको महत्वपूर्ण सदस्य रहेको र नेपाली क्रिकेटलाई पुरानै अवस्थामा फर्काउन आवश्यक रहेको समेत बताए।
नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप रहेको भन्दै आइसीसीले गत वैशाखमा नेपाल क्रिकेट संघ क्यानलाई निलम्वन गरेको थियो। निलम्वन गरेको करिब ४ महिनापछि आइसीसीले नेपाली क्रिकेट विवादलाई समाधन गर्न पहल गरेको छ।
यदी योजना अनुसार नै सबै प्रक्रिया हुँदै गएको खण्डमा सन् २०१७ सम्ममा नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय निलम्वन फुकुवा हुनेछ। नेपाल क्रिकेट बोर्ड गठन हुनेछ र नेपाली क्रिकेट नर्मल रुपमा अगाडी बढ्नेछ।