
सन् २०१८ मा रसियामा हुने विश्वकप अन्तर्गत युरोपियन छनोट खेलमा जर्मनी, इंगल्याण्ड, स्कटल्याण्ड र डेनमार्कले विजयी सुरुवात गरेका छन्।
जर्मनीले नर्वेलाई सहजै पराजित गर्दा इंगल्याण्डले १० खेलाडीमा रहेको स्लोभाकिलाई हराउन अन्तिमसम्म संघर्ष गर्नुपर्यो।
समूह सी को खेलमा जर्मनीले नर्वेलाई ३-० ले हरायो। जर्मनीको जितमा थोमस मुलरले २ तथा जोसुअ किमिचले १ गोल गरे। समूह सी कै अन्य खेलमा अजरवैजानले सान मारिनोलाई १-० गोल अन्तरले पराजित गर्दा चेक रिपव्लिक र उत्री आयरल्याण्डले गोलरहित बराबरी खेलेका छन्।
समूह एफ को खेलमा एडनान लालानाले खेलको इन्जुरी टाइममा गरेको एक मात्र गोलको मद्दतमा इंगल्याण्डले स्लोभाकियालाई पराजित गरेको छ।
नयाँ प्रशिक्षक साम अलारडायसको डेब्यु खेलमा इंगल्याण्डले जित दिलाउन लालानाले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेका हुन्। ५७ औं मिनेटमा मार्टिन स्केटल दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि स्लोभाकिया १० खेलाडीमा झरेको हो।
समूह एफ कै अर्को खेलमा स्कटल्याण्डले ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको माल्टालाई ५-१ ले हरायो। स्कटल्याण्डको जितमा रोवर्ट स्नोडग्रासले ह्याट्रिक गरे। क्रिस मार्टिन र स्टेभेन फ्लेचरले १-१ गोल गरे। अल्फ्रेड एफिओङले एक गोल गरे भने जोनाथान कारुना र लुक गामविनले रातो कार्डको सामना गरे।
यस्तै समूह एफको अर्को खेलमा लिथुअनिया र स्लोभेनियाले २-२ गोलको बराबरी खेले। लिथुअनियाका लागि फियोडोर केर्निच र भाइकिनटास स्लिभकाले गोल गर्दै पहिलो हाफमा २ गोलको अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा स्लोभेनियाका रेने क्रिन र बोसयन सेजरले गोल गर्दै खेल बराबरी गरेका हुन्।
समूह ई को खेलमा डेनमार्कले अर्मेनियालाई १-० ले पराजित गरेको छ। डेनिस टोलीका लागि क्रिस्टियन एरिक्सनले निर्णायक गोल गरे। तर एरिक्सन पेनाल्टीमा भने गोल गर्न असफल भएका थिए।
यस्तै पोल्याण्ड २ गोलको अग्रता लिएर पनि कजाकस्तानसँग २-२ गोलको बराबरीमा रोकिँदा रोमानिया र मोन्टेनेग्रोले १-१ गोलको बराबरी खेलेका छन्।