PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

पूरा हुँदै मेलम्ची सपना : एकै महिनामा १००३ मिटर सुरुङ खनियो, असारभित्रै काठमाडौंमा पानी



अमर बडुवाल

पूरा हुँदै मेलम्ची सपना : एकै महिनामा १००३ मिटर सुरुङ खनियो, असारभित्रै काठमाडौंमा पानी

काठमाडौं : भनिन्छ, २० वर्षमा त खोला पनि फर्किन्छ। काठमाडौंवासीका लागि बहुप्रतीक्षित बनेको मेलम्ची खानेपानी आयोजना सुरु भएको १९ वर्ष भइसक्यो। मेलम्चीको पानी आउने दिन गन्दै ट्याङ्करको पानी नापेर काम चलाइरहेका यहाँका वासिन्दाका लागि भने सुखद संकेत देखिएको छ।
 
अहिलेकै गतिमा काम भए आठ महिनामा मेलम्चीको पानी काठमाडौंका धारामा झर्नेछ। गत महिनासम्ममा आयोजनाको ७० प्रतिशत सुरुङ खन्ने काम पूरा भइसकेको छ।
 
मेलम्ची खानेपानी आयोजनाले गएको महिना एक किलोमिटरभन्दा बढी सुरुङ खनेर काठमाडौंवासीको आशामा भरोसा थपिदिएको हो। अगष्ट महिनामा आयोजना एक हजार तीन मिटर सुरुङ खन्न सफल भयो। जुन अहिले सम्मकै ठूलो प्रगति हो। यसअघि महिनामा थोरैमा १० मिटर र धेरैमा सात सय मिटर सुरुङ खनिएको थियो।
 
अहिलेको सफलताले इच्छाशक्ति भए नेपालमा पनि द्रूत गतिमा काम सम्भव छ भन्ने पुष्टि भएको छ। आयोजनाका निर्देशक घनश्याम भट्टराई भन्छन्, 'हामी गत महिना १२ सय मिटर सुरुङ खन्न सक्थ्यौं, लक्ष्य पनि एक हजार ५० मिटरभन्दा बढी नै खन्ने थियो। तर धेरै तीव्रता दिँदा उपकरणमा समस्या आउने डर थियो।' 
 
अगस्टको पहिलो साता दैनिक औसत ३० मिटर, दोस्रो साता २९ मिटर, तेस्रो साता ३१ मिटर र चौथो साता ३७ मिटर सुरुङ खनिएको थियो। महिनाको अन्तिम दुई दिन ३८ मिटरका दरले खनेको भट्टराईले बताए। सुरुङ खन्ने उपकरणमा एक-दुई वटा 'ब्याकअप' भए १२ सय मिटरसम्म खन्न सकिने उनको भनाइ छ।
 
आयोजनाको २७.५ किलोमिटर सुरुङमध्ये १९.५ किलोमिटर खनिसकिएको छ। बाँकी आठ किलोमिटर सुरुङ् खन्न तीन चरणमा काम बाँडिएको छ। पहिलो चरणमा दुई महिनाभित्र दुई ठाउँको काम पूरै सक्ने लक्ष्य छ। दोस्रो र तेस्रो चरणमा तीनतीन महिनाको दरले सुरुङको काम सकिनेछ।
 
बाहिरी काम धेरै जनशक्ति लगाएर एकै पटक गर्न सक्ने भएको हुँदा सुरुङ खनिसकेको एक/दुई महिनामै धारामा पानी खसाउने लक्ष्य आयोजनाको छ। यसरी आउँदो असारभित्र पानी ल्याइसक्ने र कुनै कारणले ढिलो हुँदा पनि काठमाडौंवासी 'दसैं-तिहारको उपहारको रुपमा' मेलम्चीको पानी पुर्‍याउने भट्टराईको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell