बनेपा : काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा ३ सय ५० प्रजातिका जडीबुटी भेटिएको छन्। तीमध्ये १० प्रजातिका जडीबुटी मात्रै काभ्रेपलाञ्चोक जिल्ला वन कार्यालयले निकासीका लागि इजाजत दिइएको छ।
महाभारत क्षेत्रको चौडापाते वनमा चिराइतो, तीतेपाती, मजिठो, पाखाबेद, बोझो, टिमुर, झ्याउ, लौठसल्ला लगायतका दुर्लभ मानिने ग्राउण्ड अर्किट नामको जडीबुटीसमेत पाइने भएकाले यसबाट मनग्य लाभ लिन सकिने वन अधिकृत प्रेम खनालले बताए।
गत आर्थिक वर्षमा निजी वनबाट उत्पादित २ हजार ७ सय ९ किलोग्राम पाषणवेद नामक जडीबुटी निकासीको लागि इजाजत दिइएको र त्यसबाट रु १३ हजार ५ सय ३३ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
जडीबुटीको उपयोग गर्न सकिने सम्भावना भए पनि त्यसको पहिचान गरी भनेजस्तो लाभ लिन नसकिएकाले जडीबुटी रहेका स्थान पहिचान गर्न जडीबुटी सूचना केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम गरिने वन अधिकृत खनालले बताए।
जडीबुटीखेती विस्तारका लागि रु ८२ लाख बजेट विनियोजन भएकाले त्यसबाट जडीबुटी प्रशोधन तथा भण्डारण र सम्भावित जडिबुटीको पकेट क्षेत्र संवर्द्धन गर्ने लगायतका कार्यक्रम गरिने उनले जानकारी दिए। रासस