PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

टीकापुर घटनालाई लिएर संसदमा सांसदको दोहोरी



मनोज सत्याल

टीकापुर घटनालाई लिएर संसदमा सांसदको दोहोरी

काठमाडौं : संसदको बैठकमा सोमबार कैलालीको टीकापुर घटनालाई लिएर सांसदहरुबीच दोहोरी नै चल्यो। शून्य समयमा बोल्ने सांसद हर्कबोल राईले टिकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने तयारी भएको भन्दै प्रश्न उठाए।

उनले भने, 'टीकापुर घटनाका जघन्य अपराधीलाई कारवाहीको साटो उन्मुक्ति दिने तयारी भइरहेको सुनेको छु। यसबारे जानकारीका लागि रुलिङ होस्।'

गत वर्ष भदौ ७ गते टीकापुरमा थारुहरुको आन्दोलनमा अञ्चल प्रहरी प्रमुख र एक बालक सहित ८ सुरक्षाकर्मीको मृत्यु भएको थियो। आन्दोलनकारीले घरेलु हतियारले हत्या गरेको अभियोग छ। त्यसपछि पटकपटक गरी २६ जना पक्राउ परेका थिए - हत्यामा संलग्न रहेको भन्दै। समातिएकालाई थारु र मधेसवादी दलका नेताहरुले निर्दोष भएको दावी गर्दै आएका छन्। 
 
राईले बोले लगत्तै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले नियमापत्ति गरे।

उनले प्रश्न गरे,  'उहाँ को हुनुहुन्छ जघन्य अपराधी भन्ने?'

उनले घटना अदालतमा विचाराधीन रहेको र छानविन भइरहेको भन्दै रेकर्डबाट हटाउन माग गरे। तर सभामुख ओनसरी घर्तीले विषयमा आफ्नो 'ध्यानाकर्षण भएको' सामान्य टिप्पणीमात्र गरिन्।

तर एमालेका सांसद चुडामणि बिक जंगलीले लगत्तै नियमापत्ति गरे।

'भर्खर बोल्ने माननीयले कुन नियमको आधारमा नियमापत्ति गर्नुभयो। सभामुखले कुन आधारमा समय दिनुभयो?,' उनले प्रश्न गरे।
तर सभामुख ओनसरी घर्तीले भने संसद बैठक अगाडि बढाइन्। टीकापुर घटनाको बहस अगाडि बढेन।

नेकपा एमाले र माओवादीको गठबन्धन टुटेर नयाँ सत्ता समीकरण हुँदा टीकापुर घटनामा समातिएकालाई छाड्ने विषय पनि समेटिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell