PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

पूर्व प्रम ओलीले बन्द गराए ऋषि धमलाको बोली



सविन ढकाल

पूर्व प्रम ओलीले बन्द गराए ऋषि धमलाको बोली

काठमाडौं : उपचारका लागि थाइल्यान्ड गएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सोमबार फर्किए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा चम्किलो मुहारमा देखिएका थिए। चिकित्सकको रिपोर्टमा आफ्नो स्वास्थ्य राम्रो रहेको उनले सुनाए। त्यसको झल्को उनको अनुहारले दिइरहेको थियो। स्वस्थ भए पनि उनी मिडियासँग भने आक्रोशित रहेछन्।
 
'रिपोर्टमा मात्र होइन मलाई पनि आफू स्वस्थ भएको अनुभव भइरहको छ,' उनले सुनाए। पत्रकार सम्मेलनको सुरुमै उनले मिडियाकर्मीमाथि तितो पोख्न पछि परेनन्। केही सञ्चारमाध्यम र पत्रकारमाथि भड्किएका थिए। आफू विदेश उपचार गर्न गएको बेला केही मिडियाले मनपरि लेखेको उनको आरोप थियो। त्यसलाई उनले 'बिट पत्रकारिता गरेको' भने। ओलीले विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा पत्रकारको उल्लेखनीय उपस्थिति थियो।

त्यही पत्रकार सम्मेलनको बीचतिर टुप्लुक्क देखापरेका थिए ऋषि धमला। धमलाले आफ्नै पुरानै स्वभावअनुसार जे जस्तो भए पनि प्रश्न गर्नै पर्ने बानी यहाँ दोहोर्‍याए। उनी ठेलमठेल गर्दै सबैभन्दा अगाडि पुगे।

ओलीले बोलिसक्न नपाउँदै धमलाले प्रश्न गरिहाले-

'केपी शर्माज्यु मेरो एउटा प्रश्न छ। तपाईँको सरकार संविधान संशोधन गर्न नसकेका कारण नै ढल्यो सबैलाई जगजाहेर छ। मधेसको मुद्दा सम्बोधन गर्न सक्नुभएन। मधेसी नेताहरुसँग सम्बन्ध राम्रो हुन सकेन। त्यसकारण भारतसँगको सम्बन्ध बिग्रियो। त्यसैले तपाईँ सत्ताच्यूत हुनुभयो। सबैलाई भनिदिनुहोस्- मधेसवादीले भने जसरी संविधान संशोधन गर्न एमाले किन बाधक बनिरहेको छ?'

सुरुदेखि नै 'विट पत्रकारिता' (विट व्यङ्ग्यको अर्थमा बोलेका थिए) गरेको भन्दै आक्रोशित देखिएका ओलीलाई धमलाको यो प्रश्नले झन् रिस उठायो।  ओलीले धमलाको प्रश्नको जवाफ दिँदै भने, 'यो प्रश्नको भाषा नै अनुपयुक्त, अनुचित र हानिकारक छ।'

उनी केहीबेर रोकिए। सम्मेलन हलमा हाँसो गुञ्जियो।

त्यसपछि धमलातिरै फर्किँदै आक्रोशित मुडमा भने, 'संशोधन गर्न नसकेको होइन। किन सकिँदैन? कोसिस त गर्‍यौं। पहिले गरेकौं हौं।  चाहिएका बेला गर्‍यौं। गर्दै नगरेको विषयलाई सकेन भनेको के?'

ओलीले धमलालाई नै प्रश्न तेर्स्याए। धमला मौन रहे।

फेरि ओली बोले, 'मधेसका मुद्दालाई सम्बोधन गर्न सकेन भनेको के?'

छेउमा नै रहेका धमलाले मलिन तरिकाले भने, 'सीमाङ्कनको बारेमा अहिले पनि एमाले …।' धमलाले प्रष्ट बोलिसकेका थिएनन्।
 
फेरि ठूला आँखा पार्दै चर्को स्वरमा ओलीले धमलालाई जवाफ दिए, 'सीमाङ्कन भनेको के नेपालको कि प्रदेशको?'

फेरि ओलीले धमलालाई नै प्रश्नको बाण हाने।

धमलाको बोली बन्दबन्द हुनै लागेको थियो। धमलाले भने, 'प्रदेशको सीमाङ्कन।'

ओलीले उल्टै सोधे, 'यो मधेसको सीमाङ्कन कसरी भयो?' आक्रोशित भएर ओलीले जवाफ दिएपछि धमला चुप रहे। सायद ओलीको चढेको पारो बुझे।

त्यसपछि ओलीले फेरि भने, 'अनावश्यक, अनुचित मोडबाट आएको र बेग्लै आग्रह साथ आएको प्रश्नको अर्थ छैन।' ओलीको मुड र धमलाको प्रश्नले उनको प्रेस भेटघाट नै छायाँमा पार्‍यो। फाइल फोटो : रिपोटर्स क्लब 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell