
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म २ लाख ७५ हजार ९६२ भूकम्पपीडितले पहिलो किस्ताबापतको रकम पाइसकेको जनाएको छ।
व्यवस्थापिका–संसद् विकास समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रगति विवरण पेस गर्दै यस्तो जानकारी गराएका हुन्। यो तथ्यांक भदौ १९ गतेसम्मको हो।
विकास समितिमा ज्ञवालीले पेस गरेको संक्षिप्त विवरण
अनुदान वितरण सम्बन्धमा- अनुदान वितरण कार्य द्रुत गतिमा भइरहेको
- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार भदौ १९ गतेसम्म २ लाख ७५ हजार ९ सय ६२ भूकम्प पीडित जनताको बैंक खातामा पहिलो किस्ताको रकम जम्मा भइसकेको
- प्राधिकरणका कार्यकारी सदस्यहरुको संयोजकत्वमा जिल्ला छुट्टाएर अनुगमन तथा सहजीकरण गरिएको
- स्थलगत रुपमा समस्या समाधान गर्ने गरी क्वीक रेस्पोन्स टिम परिचालन गरिएको
- केन्द्रीय तहमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा सम्बद्ध मन्त्रालयका सचिव एवं महालेखा नियन्त्रक सहितको आवास अनुदान केन्द्रीय अनुगमन समिति गठन भई अनुगमन भइरहेको
- भौगोलिक रुपमा दुर्गमता र सुगमताको अवस्था एवं कार्य सम्पादन मूल्यांकनका अवस्थाका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्बन्धमा आवश्यक मापदण्ड तय गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिवको नेतृत्वमा सम्बद्ध केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुखहरु रहेको कार्यदल गठन गरी अध्ययन भइरहेको
- यसको प्रस्ताव तयार पारी यथाशीध्र प्रक्रिया अघि बढाइने
शाखारहित बैंक एवं घुम्ती बैंकिङ सेवा सञ्चालन सम्बन्धमा
- सम्बद्ध जिल्लाबाट माग भएअनुसार घरधनीको खातामा रहेको रकम वितरणलाई सहज बनाउन आवश्यकता अनुसार शाखारहित बैंक एवं घुम्ती बैंकिङ सेवाको सेवा शुल्क नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयमा एकिन गरी रकम वितरणलाई तीव्रता दिइने
निर्माण सामग्री व्यवस्थापन सम्बन्धमा
- भूकम्प प्रभावित जिल्लाहरुमा आवश्यक पर्ने निर्माण सामग्रीहरुको प्रारम्भिक आंकलन गरिएको
- निर्माण सामग्रीको आपूर्ति सम्बन्धमा आपूर्ति मन्त्रालय एवं नेपाल उद्योग बाणिज्य महासंघ लगायतका निकायहरुसँग छलफल अघि बढाइएको
- जिल्ला जिल्लामा निर्माण सामग्रीहरुको उत्खनन्, प्रशोधन, बिक्री वितरण र गुणस्तर कायम गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी प्रक्रिया अघि बढाइएको
- आपूर्ति मन्त्रालयसँगको समन्वयमा निर्माण सामग्री बैंक मेटेरियल बैंक स्थापनाका सम्बन्धमा छलफल अघि बढाइएको
निर्माणकर्मी व्यवस्थापन सम्बन्धमा
- विभिन्न साझेदार संस्थाहरु समेतको सहकार्यमा हालसम्म १५ हजारभन्दा बढी निर्माणकर्मी उत्पादन भइसकेको
- प्रत्येक गाविसमा वन द जब ट्रेनिङ उपलब्ध गराउने गरी करिब ३० हजार निर्माणकर्मी उत्पादन गर्ने कार्ययोजना सहित आवश्यक कार्य अघि बढाइएको
- सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत जिल्ला तथा गाउँमा खटिएका इन्जिनियरहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम उपलब्ध भइरहेको
गुनासो सम्बन्धमा
- गुनासो सुनुवाइ कार्यविधि तयार पारी कार्यान्वयनमा ल्याइएकोस्थानीय तहमा सम्बोधन हुने गुनासो सुनुवाईका लागि गाविस सचिवको नेतृत्वमा कार्यदल गठन गर्ने व्यवस्था मिलाइएको र सोही अनुसार कार्य अघि बढाइएको
- गुनासो सुनुवाइ प्रक्रियामा सहजीकरण होस् भन्ने उद्देश्यले पुनर्निर्माण सामुदायिक समिति गठन सम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनका लागि स्थानीय तहमा निर्देशन दिइएको
- केन्द्रमा प्राप्त हुने गुनासोको सम्बोधनका निम्ति केन्द्रीय गुनासो सुनुवाई समिति गठन गरी दुई वटा डेक्सको स्थापना सहित २२ जना इन्जिनियर कार्यरत रहेका
- केन्द्रमा प्राप्त १० हजार गुनासो मध्ये करिव ५ हजार फछ्र्यौटको चरणमा रहेको
- जग्गा सम्बन्धी गुनासो सम्बोधनका निम्ति जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने व्यवस्था मिलाइएको
- विभिन्न कारणले दर्ता हुन नसकेका जग्गाहरुको दर्ता प्रक्रियाका निम्ति आमसञ्चार माध्यममा सूचना प्रकाशित गरी गाविस तहमै निवेदन दिन सक्ने व्यवस्था मिलाइएको
- गुठीसँग सम्बन्धी जग्गाको हकमा गुठी संस्थानको सिफारिसको आधारमा अनुदान सम्झौता गर्न सक्ने व्यवस्था मिलाइएको
काठमाडौं उपत्यका एवं बाँकी सत्र जिल्लामा विस्तृत घरधुरी सर्भेक्षण कार्य सम्बन्धमा
- केन्द्रीय तथ्यांक विभाग मार्फत काठमाडौं उपत्यकामा भेरिफिकेसन मोडेल तथ्यांक विश्लेषणको काम भइरहेको
- करिब १ लाख २३ हजार घरधुरी मध्ये हालसम्म ७२ हजार घरपरिवारको लगत संकलन भएको
- तथ्यांक विश्लेषण सम्पन्न हुनासाथ अनुदान सम्झौता कार्य अघि बढाइने
- बाँकी १७ जिल्लामा घरधुरी सर्भेक्षणका निम्ति केन्द्रीय तथ्यांक विभागमार्फत कार्य अघि बढाइएको