काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निकायको नभई स्थानीय तहकै निर्वाचन गर्ने प्रष्ट पारेका छन्।
संसदको विकास समितिमा पुरानो संरचना अनुसार नै स्थानीय निकायको निर्वाचन गर्न लागिएकोबारे जिज्ञासा राखिएको थियो। प्रचण्डले जवाफमा भने - 'निर्वाचन स्थानीय तहकै गर्ने हो।'
उनले स्थानीय तह पुर्नसंरचना आयोग समेत ५ सय ६५ को स्थानीय तहको संख्या बढाउन तयार रहेको बताए। 'संख्याका लागि केही न केही आधार बनाउनुपर्छ,' उनले भने, 'समझदारी भए संख्या बढ्न सक्छ।'
उनले सरकारको नेतृत्व हरहालतमा स्थानीय निर्वाचन गराउने पक्षमा रहेको बताए।
'हर हालतमा निर्वाचन गर्नैपर्छ, सरकारको नेतृत्व हर हालतमा निर्वाचन गर्ने पक्षमा छ,' उनले भने, 'तयारीबिना निर्वाचनको मिति घोषणा गर्नुको अर्थ छैन, सरकार आवश्यक ऐन कानुन र राजनीतिक वातावरण बनाउन तथा प्राविधिक तयारीमा लागेको छ।'
प्रधानमन्त्री प्रचण्डले आफूले निर्वाचन आयोगसँग समेत परामर्श गरेको उल्लेख गर्दै भदौभित्रै स्थानीय निर्वाचनका लागि आवश्यक कानुन निर्माण गरिसक्ने दावी गरे।
प्रचण्डले प्रमुख दलहरुबीच असमझदारी र अस्वस्थ प्रतिष्पर्धा भए संविधान कार्यान्वयनमा दुर्भाग्यपूर्ण अवस्था आउने बताए।
उनले पुर्ननिर्माण र संविधान कार्यान्वयन ऐतिहासिक चुनौतीपूर्ण कार्य भएको तर्क गरे।
'सानो काम छैन पुर्ननिर्माण र संविधान कार्यान्वयन - सरकार र प्रधानमन्त्री एक्लैले बल गरेर हुने होइन,' उनले भने।
उनले संविधान निर्माण र घोषणा जत्तिकै चुनौतीपूर्ण काम संविधान कार्यान्वयन भएको तर्क गरे।
'थपिएको कुरा छन् मधेसी थारुको जाजय मुद्दा सम्बोधन गर्ने चुनौती छ,' उनले भने, 'संविधान कार्यान्वयन हर हालतमा गर्ने संकल्पमा पुग्नुपर्छ।'
भूकम्प पीडितलाई अनुदान तीन लाख
प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै भूकम्प पीडितले पाउने अनुदान दुई लाखबाट बढाएर तीन लाख पुर्याउन लागिएको बताए।'एक लाख थप्ने तयारी भइरहेको छ। केही दिनभित्र निर्णय गरिन्छ,' उनले भने, 'अरु चाँहि सामान थप्ने गरि पाँच लाख नपुगे भूकम्प प्रतिरोधी घर बनाउन सकिन्न।'
उनले भूकम्प पीडितलाई दिने रकमबारे डोनरले नदिए सरकार आफ्नै खल्तीबाट खर्च गर्न सक्ने अवस्थामा नरहेको बताए।
'त्यसैले जसरी चाहेको छ त्यसरी जान अप्ठेरो छ,' उनले भने, 'तीव्र गतिमा पुर्ननिर्माण अगाडि बढाउने विषयमा डोनर अन्तर्राष्ट्रिय समुदायसँग कुराकानी भइरहेको छ।'
उनले आफूले दैनिक मुख्य सचिवबाट कति भूकम्प पीडितले घर बनाउन किस्ता रकम पाए भन्ने जानकारी लिने गरेको खुलाए।
साथै आफूले '४५ दिन भित्र किस्ता पहिलो किस्ता दिन सेना र प्रहरी लिएर हेलिकप्टरमा हालेर पुर्याउनुपर्छ' भन्ने गरेको बताए। 'कति सिरियस्ली लिएको छ भन्ने हो,' प्रचण्डले भने।
उनले विगतको सरकारको पालामा ४० हजारले मात्र पहिलो किस्ताको रकम पाएकोमा अहिले एक महिना भित्रै २ लाख ७५ हजारले पहिलो किस्ताको रकम प्राप्त गर्नु उत्साहप्रद भएको दावी गरे।