
सन् २०१८ मा रसियामा हुने विश्वकप अन्तर्गत युरोपियन छनोटको पहिलो खेलमा स्पेन, इटली र वेल्स विजयी भएका छन्।
समूह जी को खेलमा स्पेनले लिचेस्टाइनलाई ८-० ले पराजित गर्यो। स्पेनलाई शानदार जित दिलाउन डिएगो कोस्टा, डेविड शिल्भा र अल्भारो मोराटाले २/२ गोल गरे भने सर्जी रोवर्टो र भिटोलोले १/१ गोल गरे।
समूह जी कै अर्को खेलमा १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको इटलीले इजरायललाई ३-१ ले हरायो। इटलीको जितमा ग्राजियानो पेल्ले, एन्टोनियो कान्ड्रेभा र सिरो इम्मोवाइलले गोल गरे। ५५ औं मिनेटमा जर्जियो जिलेइनी दोहोरो पहेँलो कार्डको सामना गदै मैदान बाहिरिएपछि इटली १० खेलाडीमा झरेको हो। इजरायलका लागि तेल विन चामले सान्त्वना गोल गरे।
समूह जी अन्तर्गतकै खेलमा अल्वानिया र मेसोडेनियाले १-१ गोलको बराबरी खेले।
समूह डी को खेलमा गारेथ बेल प्रेरित वेल्सले माल्डोभोलाई ४-० ले हरायो। वेल्सको लागि वेलले २ गोल गरे भने साम भोक्स र जोए एलेनले १/१ गोल गरे।
समूह डी कै अन्य खेलमा अष्ट्रियाले जर्जियालाई २-१ गोल अन्तरले पराजित गर्दा, आयरल्याण्ड र सर्वियाले २-२ गोलको बराबरी खेलेका छन्।
यता समूह आई अन्तर्गत भएका तीनवटै खेल बराबरीमा टुङ्गिएको छ।
क्रोएसियाले १ गोलको अग्रता लिएर पनि टर्कीसँग १-१ गोलको बराबरी खेल्यो। यस्तै युक्रेन र आइसल्याण्ड तथा फिनल्याण्ड र कोशोभोले पनि १-१ गोलको बराबरी खेलेका छन्।