
- वासुदेव पौडेल
साहित्यिक पर्यटकको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्ने सोचअनुरुप कविशिरोमणि लेखनाथ जन्मस्थल विकास समितिले पृथ्वी राजमार्गको लेखनाथ चोकदेखि ठाउँठाउँमा मार्बलमा कुँदिएका कविता वाचन गर्दै कवि शिरोमणिकै जन्मस्थलसम्म पुग्न सकिने व्यवस्था मिलाएको छ।
लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मका स्यानी चौर, ठूलीपोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरी लगायतका मुख्य चोकमा समितिले उनका मर्मस्पर्शी कविता पढ्न सकिने व्यवस्था मिलाएको कोषाध्यक्ष रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
'लेखनाथ चोकस्थित कवि शिरोमणिको सालिकदेखि लगभग पाँच किलोमिटर दुरीमा पर्ने उहाँको जन्मस्थलसम्म ठाउँठाउँमा उहाँकै विशिष्ट कविता पढ्दै जान सकिने व्यवस्था मिलाइएको छ,' तिमल्सिनाले भने, 'लेखनाथको जन्मस्थल समेतलाई समेटेर सिङ्गो अर्घौ अर्चले गाउँलाई साहित्यिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ।'
समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेकाअनुसार कवि शिरोमणिको जन्मघर समेतलाई समेटेर कवि शिरोमणि सङ्ग्रहालय निर्माण गर्न लागिएको छ।
सात तालको बगैँचा सहर अवलोकन गर्न आउने स्वदेशी एवम् विदेशी पर्यटकलाई एकपटक घुम्नैपर्ने स्थलका रुपमा कवि शिरोमणि सङ्ग्रहालयलाई विकास गर्दै साहित्यिक पर्यटनको महत्वपूर्ण आकर्षणका रुपमा अर्घौ अर्चलेलाई विकास गर्ने समितिको लक्ष्य छ।
'कविशिरोमणिका साहित्यिक जीवन लगायतका हरेक पक्ष समेटिने किसिमले कविशिरोमणि सङ्ग्रहालय र आसपासको क्षेत्रलाई विकास गर्ने गुरुयोजनाअनुसार अघि बढेका छौं,' अध्यक्ष लामिछानेले भने।
कविशिरोमणिको साहित्यिक योगदानलाई जीवन्त राख्ने उद्देश्यका साथ निर्माणाधीन सङ्ग्रहालय भवनलाई नेपाली कलाले सिङ्गार्ने प्रयास गरिएको छ। सङ्ग्रहालयमा राखिने झ्याल र ढोकामा नेपाली कलाले सिङ्गार्न भक्तपुरदेखि कालिगड बोलाइएको छ।
सङ्ग्रहालयका साथै निर्माणाधीन तरुण तससी पार्कलाई थप व्यवस्थित गर्ने र कवि शिरोमणिलाई कविता लेख्न प्रेरणा मिलेकोस्थल ‘दोपहरे’मा पार्क निर्माणको सोच राखिएको लामिछानेले जानकारी दिए।
कविशिरोमणिको जन्मस्थल अवलोकन गर्न आउने साहित्यिक पर्यटकलाई लक्ष्य गरी उनीहरू बस्ने सुविधा सम्पन्न होटल निर्माण गर्ने समितिको तयारी छ।
अर्घौ अर्चलेमा बसेर साहित्य सिर्जना गर्न चाहने पर्यटकलाई त्यही किसिमको वातावरणसहितको होटल निर्माण गर्ने सोच समेत समितिले बनाएको छ।रासस