- हेमन्त केसी
समयमै उपचार नपाउँदा जिल्लाका झार्पा, रग्दा र दह गाविसका सुत्केरीको मृत्यु भएको हो। मृत्यु हुनेहरु सडक सञ्जाल र स्वास्थ्य संस्थाको पहुँच नभएको बस्तीका हुन्। जिल्लाका अधिकांश बस्ती स्वास्थ्य संस्थाको पहुँचभन्दा निकै टाढा भएका कारण उपचारको अभावमा धेरै शिशु र आमाको मृत्यु हुने गरेको छ।
स्वास्थ्य संस्था टाढा भएकै कारण नियमित गर्भ परीक्षण गर्न नसकिएको दुर्गम क्षेत्रका महिला बताउँछन्। यहाँका अधिकांश दुर्गम गाउँमा सञ्चारमाध्यमको पहुँच पनि नभएको अवस्था छ। फोन गर्नका लागि घन्टौं हिँड्नुपर्ने बाध्यता छ। बिहानै हिँड्दा बेलुका मात्र स्वास्थ्य संस्था पुग्ने अवस्था छ।
स्वास्थ्य संस्था पुगे पनि औषधि नपाउँदा स्थानीय औषधि पसलकै भर पर्दा निकै तनाव हुने गरेको रग्दा ध्यारगाउँका शेरबहादुर ध्यारले बताए।
गम्भीर बिरामीलाई पर्याप्त स्ट्रेचर नहुँदा निगालाबाट निर्माण गरिएको डोको काटेर त्यसैमा बोकी घन्टौँ लगाएर स्वास्थ्य संस्थामा लानुपर्ने बाध्यता रहेको उनी बताउँछन्।
गर्भवती भए पनि नियमित रुपमा गर्भ जाँच नै नगर्ने गरेको पाइएको छ। गर्भवतीले चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ। यसबीचमा नियमित रुपमा आवश्यक पर्ने फलफूल, गेडागुडी अनि आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्ने भए पनि यी काम गरिबीका कारण उपभोग गर्न नपाइएको महिला बताउँछन्। 'बिहानबेलुका पेटभरि खाना पाए त कत्ति खुसी हुने थियौं कहाँको पौस्टिक तत्व?' झार्पा– ५ की सुमित्रा बुढाले प्रश्न गरिन्।
जिल्लाका दुर्गम गाविसमा सात महिनाभन्दा बढी खाद्यान्न अभाव हुन्छ। पुरुष कमाइ गर्न भारत लाग्नुपर्ने र महिला तथा बालबालिका मात्र घरमा बस्दा सबै भएभरको काम र छिमेकीको सहयोग सबै गर्नुपर्ने भएकाले सोचेको कुरा कहिल्यै पूरा नभएको दुर्गम क्षेत्रका महिला बताउँछन्।
दुर्गमका स्वास्थ्य संस्थामा नियमित औषधि पनि नहुँदा स्थानीयवासीले सरकारी स्वास्थ्य संस्थाभन्दा निजी मेडिकलको भर पर्नुपर्ने बाध्यता रहेको खगेनकोट– ५ का रामप्रसाद खत्रीले आक्रोश पोखे। 'हामी बसेको ठाउँबाट स्वास्थ्य चौकीमा जान र आउन मात्र छ घन्टाभन्दा बढी हिँड्नुपर्छ, कसरी उपचार सम्भव छ?' उनले भने, 'त्यसैले हामी नजिकैको औषधि पसलमा गएर भए पनि महँगो सेवा सुविधा लिन बाध्य भएका छौं।'
दुर्गम गाउँमा अहिले पनि देवीदेवता रिसाउने डरले सुत्केरीलाई नौ दिनसम्म गाईभैंसीको गोठमा राख्ने चलनले सुत्केरी र नवजात शिशुको अवस्था नाजुक बन्ने गरेको छ। सुत्केरीलाई दही, दूध, घिउ दिएमा देवीदेवता रिसाउने भन्दै नौ दिनसम्म नदिने र कसैले पनि सुत्केरीलाई नछुने भएका कारण अधिकांश सुत्केरीको अकालमै ज्यान जाने गरेको छ। रासस