
काठमाडौं : राष्ट्रिय विश्वविद्यालय खेलकुद संघ नेपालले खेलकुद क्षेत्रमा उठाएको रकम विद्यालय तथा कलेजले दुरुपयोग गरेको आरोप लगाएको छ।
दुई साताअघि सम्पन्न भएको महाधिवेशनबाट चयन भएको समितिले आज पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो। कलेज, विद्यालयले विद्यार्थीबाट खेलकुदको लागि भन्दै महँगो शुल्क लिए पनि खेलकुदमा प्रयोग नगरिएको संघका अध्यक्ष अनिलकुमार रिजालले बताए। विश्वविद्यालय मातहतका क्यामपस र विद्यालयले कम्तीमा एक जना खेल प्रशिक्षक राख्नुपर्ने प्रावधान भए पनि अहिलेसम्म नराखिएको संघको दाबी छ।
'केही विद्यालयले सरकारको आँखा छल्न प्रशिक्षक राखे पनि करारमा नियुक्ति गरिएको छ,' अध्यक्ष रिजालले भने, 'उनीहरुलाई तलब समेत दिइएको छैन।'
खेलकुद क्षेत्रको विकासको लागि एउटा खेलकुद विश्वविद्यालय समेत स्थापना गर्नुपर्ने भन्दै संघले तीन बुँदे माग अघि सारेको छ।