PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

​अपराधमा संलग्न नेताहरु : बम विस्फोटदेखि न्यायाधीश हत्यासम्म



सविन ढकाल

​अपराधमा संलग्न नेताहरु : बम विस्फोटदेखि न्यायाधीश हत्यासम्म

काठमाडौँ : सोमबार ललितपुरबाट पूर्वमन्त्री तथा पहिलो संविधानसभाका सभासद श्यामसुन्दर गुप्ता पक्राउ परे। एक महिला व्यवसायीलाई पटक-पटक फोन गरेर ५० लाख रुपैयाँ मागेको उजुरीको आधारमा उनलाई ललितपुर प्रहरीले पक्राउ गर्‍यो।
 
गुप्ता यसअघि पनि जेल सजाय भुक्तान गरिसकेका पूर्वमन्त्री हुन्। गएको वर्षमात्रै उनी जेलबाट छुटेका थिए। 

०६७ साल पुस ७ गते  व्यवसायी पवन संघाइलाई अपहरण गरेको विषयमा पहिलो पटक उनी पक्राउ परेका थिए। जतिबेला उनी अपहरणको केसमा जेलको चिसो छिँडीमा पुगे, उनी त्यति बेला पहिलो संविधान सभाको सभासद् समेत रहेका थिए। 

सञ्जयकुमार साह

२०६३ सालपछि सदभापवना पार्टीको उपाध्यक्षसँगै पहिलो संविधानसभामा सभासद र मन्त्रीसमेत भएका सञ्जयकुमार साहको राजनीतिक यात्रा पनि अपराधबाट मुक्त हुन सकेन। 

२०६९ साल वैशाख १८ गते जनकपुरमा बम विष्फोट गराउने मुख्य योजनाकारको रुपमा साह पनि प्रहरीको फन्दामा परे। उनको योजनामा भएको विष्फोटमा ५ जनाको मृत्यु भएको थियो ३० जना भन्दा बढी घाइते भएका थिए। प्रहरीले घटना भएको दुई वर्ष पछि तत्कालीन सभासद् शाहलाई
पक्राउ गरेको हो। अहिले उनी बन्दी जीवन बिताइरहेका छन्। 

रामचन्द्र प्यासी कुशवाहा

पहिलो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक तर्फबाट सभासद् बनेका तत्कालीन सभासद् रामचन्द्र प्यासी कुशवाहाको राजनीति पनि शाह र गुप्ताकै झैँ रहन पुग्यो। कुशवाहलाई एमाले नेता मोहम्मद आलमको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले २०७० साल कात्तिक १० गते पक्राउ गरी सार्वजनिक गर्‍यो। 

दोस्रो संविधानसभामा प्रत्यक्षतर्फको टिकटको अपेक्षामा रहेका कुशवाहाले टिकट नपाएपछि रिसको झोकमा आलमको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। 

बाबु थापा

चुरेभावर राष्ट्रिय एकता पार्टीका उपाध्यक्ष बाबु थापा भनिने सर्लाहीका मेघबहादुर थापा पनि राजनीतिकै आड र मन्त्री बन्ने सपनामा अपराधी बन्न पुगे। पार्टीको अध्यक्ष बनेर मन्त्री हुने आशमा उनले पार्टीका तत्कालीन अध्यक्ष केशव मैनालीलाई पार्टीबाट जबर्जस्ति हटाए। 

मैनालीले आफू पार्टीको अध्यक्ष भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत हाले। मुद्दा हालेको समयमा थापाले मैनालीलाई पटक पटक धम्काउने, तर्साउने समेत गरेको थिए। केहि समय मैनाली थापाको डरले लुकिछिपी बस्न समेत बाध्य भए। 

तर सर्वोच्च अदालतले मैनाली कै पक्षमा फैसला गरिदियो। त्यसपछि थापाको मन्त्री बन्ने सपना चकनाचुर भयो। मन्त्री बन्न नपाउने गरी फैसला गर्ने न्यायाधीश रणबहादुर बमको उनले २०६९ साल जेठ ८ गते गोली हानी हत्या गरे। 

​हत्या भएको करिब अढाई वर्षपछि घटनाको मुख्य योजनाकारको रुपमा २०७१ साल पुस १० गते थापालाई पक्राउ परे। 

मोहम्मद आफताब आलम

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई पनि प्रहरीले खोजी सुचिमा राखेको छ। २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाउन लागेको अभियोगमा उनलाई प्रहरीले खोजी गरेको छ। पहिलो संविधानसभामा उनी रौतहट क्षेत्र नम्वर २ बाट विजयी भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell