
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि ऐतिहासिक संकल्पको खाँचो रहेको बताएका छन्।
नेपाल आर्थिक संघको रजत महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानको सफल कार्यान्वयन, पुनर्मिर्माण र मुलुकको आर्थिक समृद्धिका लागि ऐतिहासिक राष्ट्रिय संकल्पको आवश्यकता रहेको बताए।
मुलुकको वर्तमान अन्योल अवस्थाको अबिलम्व निकास नखोजे संकट गहिरिँदै जाने उनको चिन्ता थियो। संविधानको कार्यान्वयन, पुनर्निर्माण, आर्थिक समृद्धि र सबै समुदायबीच एकता कायम गराउनु चुनौतीपूर्ण अवसर भएको उनले बताए।
गत वर्ष भूकम्प र नाकाबन्दीका कारण मुलुकले संकट बेहोरेको भन्दै उनले असहज अवस्थाका कारण आर्थिक परिसूचकहरू सन्तोषजनक नभएको बताए।
प्रधानमन्त्री प्रचण्डले मुलुकको पुनर्संरचनाअनुसार वित्तीय व्यवहार र व्यवस्थालाई परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिँदै युवाहरुलाई मुलुकको पुनर्निर्माणमा लगाएर विदेश पलायन हुनबाट रोक्ने उपायबारे ठोस प्रस्ताव सहितको सुझाव दिन अर्थशास्त्रीहरुलाई आग्रह गरे।