काठमाडौं : नेपाली राष्ट्रिय टीमका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अष्ट्रेलियन पूर्व कप्तान माइकल कलार्कको एकेडेमीबाट खेल्न आधिकारिक निम्तो प्राप्त भएको छ।
लामिछानेलाई माइकल क्लार्कको क्रिकेट एकेडेमीमा निमन्त्रणा गरिएको हो। जसमार्फत लामिछानेले सन् २०१६/१७ को सिजनमा माइकलको प्रिमियर ग्रेड क्रिकेट क्लब अन्तर्गत वेस्टन सुबर्बस क्लबबाट खेल्न पाउनेछन्।
नेपाली युवा स्टारको क्रिकेट विकास गर्नको लागि क्लार्क उत्सुक रहेको उक्त क्लबले सन्दीपलाई पठाएको पत्रमा उल्लेख छ। उनलाई पठाएको पत्र सन्दीपले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
सेप्टेम्बर २४ मा एलान बोर्डर ओभलमा हुने खेलमार्फत सन्दीप र क्लार्कको पुन: भेट हुनेछ। सिजनको पहिलो खेलमा क्लार्क र सन्दीप सम्मिलित टिमले सिजनको पहिलो खेलमा मोसमनसँग खेल्नेछ।
'सन्दीप एकदमै अनौठो युवा ट्यालेन्ट हुन्' भन्दै पत्रमा क्लार्कले लेखेका छन्, 'क्रिकेट खेल्नको लागि उनी एकदमै इच्छुक छन् र मेरो एकेडेमीमा आफ्नो क्षमता सुधार गर्नका लागि ट्यालेन्टेड नेपाली क्रिकेटर आउन पाउनु उत्कृष्ट अवसर हो।'
सन्दीपलाई भेट्न आफू एकदमै हतारमा रहेको भन्दै क्लार्कले ट्वीट समेत गरेका छन्।