
काठमाडौं : नेकपा एमालेका नेता लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परेमात्रै संशोधन गरिनुपर्ने बताएका छन्।
संविधान ढुंगाको शिलालेख जस्तो नभएको भन्दै नेता पण्डितले संवैधानिक व्यवस्थाअनुसार नै संशोधन हुने धारणा राखे। विगतमा संविधानसभाको चुनाव हुन दिन्नौं भन्नेहरु प्रशस्तै रहेको तर अहिले हराएको भन्दै उनले भने, 'अहिले आएर संविधान समाप्त गर्छु भन्नेहरु पनि ठाउँठाउँमा छन्, यो संविधानले देशलाई विभाजित गर्ने होइन, एकीकृत गर्ने हो।’
पहिले मधेसलाई अलग राष्ट्र बनाउने कुरा गर्नेहरु अहिले संविधान संशोधनको कुरा गर्दै हिँडको भन्दै उनले व्यंग्य गरे। 'संविधान जारी गर्ने नेताहरुले खुट्टा कमाउने र नांगै हिँड्न थाले भने भोलि के हुन्छ?' उनले प्रश्न गरे।
छिमेकीले जे भन्यो त्यही आधारमा संशोधन गर्न नसिकने उनको भनाइ थियो। 'आज छिमेकीले भन्दैछ कि मधेस शान्त चाहियो भनेर, अनि छिमेकीले भन्नेछ कि अलग मधेस, स्वतन्त्र मधेस,' राजधानीमा भएको एक कार्यक्रममा उनले भने, 'अरुकै भनाइमा लागेर संविधान संशोधन गरियो भने नेपालको सार्वभौमिकता के हुन्छ?'