PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​जहाजभन्दा कम छैन चिनियाँ बुलेट रेल : सांघाईबाट बेइजिङ यात्रा संस्मरण



मनोज सत्याल

​जहाजभन्दा कम छैन चिनियाँ बुलेट रेल : सांघाईबाट बेइजिङ यात्रा संस्मरण

साङ्घाईका लागि गुड्ने बुलेट रेलको बेइजिङस्थित स्टेशन कुनै अन्तर्राष्ट्रिय विमानस्थल भन्दा कम छैन। सँधै रेल भ्याउन आइपुग्ने यात्रुको भिडभाड हुन्छ स्टेशनमा। रेल स्टेशन रहेको स्थानमा सवारीको उच्च चाप भएपछि फ्लाइओभर बनाइएको छ। तर पनि स्टेशन पुग्नुअघि ट्राफिक जामको सामना गर्नुपर्ने हुन्छ। 

विश्वकै सबैभन्दा लामो बुलेट रेलको रुट हो बेइजिङदेखि साङ्घाई। चौध सय किलोमिटर लामो बुलेट रेलले सन् २०१५ मा ९ सय ९२ मिलियन डलर (१ खर्ब ४ अर्ब ५६ करोड)  आम्दानी गर्‍यो जुन विश्वको कुनै पनि बुलेट रेलले कमाएको सर्वाधिक रकम हो। यो रेलले सन् २०१५ मा मात्र १३ करोड जना यात्रु बोक्यो। 

सन् २००८ मा सुरु भएर सन् २०११ मा निर्माण सम्पन्न भएको रेल सुरुवातमा प्रति घण्टा तीन सय ८० किलोमिटरको स्पिडमा चल्थ्यो। पछि सुरक्षालाई ध्यान दिएर स्पिड तीन सय किलोमिटरमा झारिएको छ। सुरुवातमा चार घण्टा समय लाग्ने अनुमान गरिएपनि अहिले झण्डै ६ घण्टाको समयमा बेइजिङबाट साङ्घाई पुगिन्छ। सुरुवातमा बीचका स्टेशनहरुमा रेल नरोकिने भएपनि अहिले विभिन्न ठाउँमा दुई मिनेटका लागि रोकिने गरेको छ। 

कस्तो छ रेलको सुविधा?

बेइजिङबाट साङ्घाईका लागि छुट्ने रेल उर्वर फाँट, नदी र पहाड हुँदै गुज्रन्छ। व्यापारिक सहर साङ्घाईका लागि गुडेको रेलले कयौँ सुरुङसमेत पार गर्छ। तर तीन सय किलोमिटर प्रति घण्टाको स्पिडमा कतिबेला त सुरुङ भित्र छिरेको र निस्किएको समेत मेसो पाइन्न।

समानान्तर लिकमा विपरित दिशाबाट रेल आउँदा हावाको वेगको महसुस रेलभित्रै हुन्छ। रेल मार्गमा पर्ने गाउँहरुमा डिस्टर्ब नहोस् भनेर लिक छेउमा बार लगाइएको छ। चिनियाँ पहाडमा वायु ऊर्जाका लागि जडित पङ्खाहरुले यात्राका दौरान देखिने दृश्यमा रोमाञ्चकता थप्छन्।

चीनमा रेल चढ्नु अघि यात्रु र उसका सामानको प्रहरीले कडा चेक जाँच गर्छन्। त्यसपछि टिकटमा लेखिएको प्लेटफर्म पछ्याउँदै दुई तल्ला मुनि पुगेर रेल चढ्न पाइन्छ। हवाई जहाजमा बोर्डिङ पास लिए जसरी नै काउन्टरबाट टिकट लिनु पर्छ। 

यतिसम्मकि रेल चढ्ने ठाउँतर्फ बढ्ने अन्तिम ढोका खुल्न त्यही टिकट मेसिनभित्र हाल्नुपर्छ। मेसिनले 'रिड' गरेपछि टिकट फुत्त बाहिर आउँछ। ढोका पनि त्यही बेला खुल्छ। यात्रुले ढोका पार गर्ने र टिकट मेसिनबाट फिर्ता लिने काम एकै चोटी गर्नुपर्छ। टिकटमा नै आफू बस्ने रेलको डिब्बा नम्बटरदेखि सिट नम्बरसम्म उल्लेख गरिएको हुन्छ।

विमानमा रहने एयरहोस्टेस जस्तै चिटिक्क ड्रेस लगाएका युवती रेलका ढोकामा उभिएका हुन्छन्। उनीहरुले सामान राख्न र सिट पत्ता लगाउन सहयोग गर्छन्।  

विमानमा जस्तै रेलले छुट्नु अघि र प्रत्येक स्टेशनमा 'अनाउसमेन्ट' हुन्छ। अनाउसमेन्ट चिनियाँ र अंग्रेजी भाषामा हुन्छ।

रेलमा मोबाइल ल्यापटप चार्जका लागि सहयोग होस् भनेर प्लगको व्यवस्था गरिएको छ। रेल यति स्मुथ छ कि तपाँइले अगाडिको टेबलमा राख्नु भएको गिलासको पानीसमेत छचल्किन्न। 

रेलभित्रै रेष्टुरेन्ट छ। त्यहाँ गएर अर्डर अनुसार खाजा खान सकिन्छ भने आफ्नै सिटमा समेत अर्डर आइपुग्छ। 

बुलेट रेल र हवाइजहाजको टिकट शुल्क उस्तै उस्तै करिब पाँच सय युआन पर्छ। सांघाइबाट बेइजिङ उडेर जाँदा साढे दुई घण्टा हाराहारी समय लाग्छ। त्यस बाहेक हवाई जहाजमा उड्दा दुई घण्टा अगावै विमानस्थल पुग्नु पर्ने, अनेक सुरक्षा झन्झट ब्यहोर्नु पर्ने हुन्छ।

त्यसबाहेक विमानस्थल शहरबाट धेरै टाढा र रेल स्टेसन नजिक रहेका छन्। हवाई जहाजमा जाँदा गन्तव्यमा पुगेपछि पनि केहि समय लगेज कुरेर बस्नु पर्छ। बुलेट रेलमा आफ्नो सामान टिपेर खुरुखुरु बाटो लाग्न पाइन्छ। यिनै कारण चिनियाँ यात्रु र विदेशी पर्यटकको समेत रोजाइमा बुलेट रेल पर्न थालेको हो।

रेलमा बिजनेस क्लास र नर्मल क्लास छुट्याइएको छ। प्रत्येक स्टेशनमा रेल रोकिनु अघि परिचारिका फोहोर संकलनका लागि आइपुग्छिन्। 
रेलको प्रत्येक कम्पार्टमेन्टमा पानीको धारा र ग्लास छ। त्यहाँ तातो/चिसो पानीको व्यवस्था छ। रेलमा सफा र व्यवस्थित शौचालयको छ।  
चीनले परम्पारगत रेलबाट १२ घण्टा लाग्ने बाटोलाई बुलेट रेलको माध्यमबाट छ घण्टा भन्दा कम समयमा छोट्याएको हो। त्यो सँगै यात्रुलाई सुविधासमेत थपेको छ। बेइजिङ र सांघाइ रुटमा बुलेट बाहेक प्रतिघण्टा एक सय ५० किलोमिटरको दुरीमा गुड्ने लोकल रेल पनि चल्छन्।

चीनले आफ्नो बुटेल रेल प्रविधि विश्वमा विस्तार गर्न थालिसकेको छ। अमेरिकामा लस एन्जलसबाट लास भेगाससम्म दुई सय ३० माइल बुलेट रेल चीनले बनाउन लागेको छ। भारतमा समेत चिनियाँ प्रविधिमा बुलेट रेल बन्ने भएको छ। मुम्बई दिल्ली हाइस्पिड रेल निर्माणमा चिनियाँ प्रविधि भित्र्याउन लागिएको हो। (फोटो साभार travelchinaguide.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell