PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

विश्वकप छनोट २०१८ : युरो च्याम्पियन पोर्चुगल स्विट्जरल्याण्डसँग हार्‍यो



पहिलोपोस्ट

विश्वकप छनोट २०१८ : युरो च्याम्पियन पोर्चुगल स्विट्जरल्याण्डसँग हार्‍यो

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटको पहिलो खेलमै युरोकप विजेता पोर्चुगल पराजित भएको छ। यस्तै युरो उपविजेता फ्रान्स बेलारुससँग गोलरहित बराबरीमा रोकिएको छ।
 
छनोटको समूह बी मा रहेको पोर्चुगल स्वीट्जरल्याण्डसँग २-० ले पराजित भएको हो। घरेलु मैदानमा भएको खेलमा दुवै गोल स्विट्जरल्याण्डले पहिलो हाफमै गरेको थियो। २४ औं मिनेटमा ब्रिल एम्बोलो र एदमिर मेहमदीले ३० औं मिनेटमा गोल गरेका हुन्।
 
खेलको अन्त्यमा ग्राइन्ट जाका दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि स्विट्जरल्याण्डले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

फ्रान्सलाई हराउँदै सन् २०१६ को युरो च्याम्पियन बनेको पोर्चुगल क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रेको थियो।
 
समूह बी अन्तर्गत नै भएको खेलमा लात्भियाले एन्डोरोलाई १-० ले पराजित गर्दा फारो आइसल्याण्ड र हंगेरीले गोलरहित बराबरी खेलेका छन्।
 
यता समूह ए अन्तर्गत आफ्नै मैदानमा भएको खेलमा बेलारुसले फ्रान्सलाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको छ। समूह ए मै बुल्गेरियाले लक्जेम्वर्गलाई प्रतिस्पर्धात्मक खेलमा ४-३ ले पराजित गर्दा नेदरल्याण्ड्स र स्वीडेनले १-१ गोलको बराबरी खेलेका छन्।
 
छनोटको समूह एच अन्तर्गत भएको खेलमा बेल्जियम, ग्रीस र बोस्निया एण्ड हर्जगोभिना विजयी भएका छन्। बेल्जियमले साइप्रसलाई ३-० ले हरायो भने बोस्नियाले स्टोनियामाथि ५-० को शानदार जित निकाल्यो। ग्रीसले जिब्राल्टरलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell