
सन् २०१८ को विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी खेलमा अर्जेन्टिना भेनेजुएलासँग बराबरीमा रोकिएको छ। यस्तै नेमारको निर्णायक गोलमा ब्राजिलले कोलम्बियालाई हराउँदा उरुग्वेले पाराग्वेलाई ४-० गोल अन्तरले पराजित गरेको छ।
अघिल्लो खेलमा उरुग्वेविरुद्ध निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जिताएका लियोनल मेसी अनुपस्थित खेलमा अर्जेन्टिनाले २ गोलले पछि परेको स्थिति उल्टाउँदै बराबरी गरेको हो।
भेनेजुएलाका लागि जुएजपी र जोसेफ मार्टिनेजले गोल गर्दै अग्रता दिलाएका थिए। तर लुकास प्राट्टो र निकोलस ओटामण्डीले अर्जेन्टिनाका लागि गोल फर्काएपछि खेल २-२ को बराबरीमा सकिएको हो।
यता तीनै गोल ब्राजिली खेलाडीले गरेको खेलमा कोलम्बिया २-१ ले पराजित भएको छ। ब्राजिलका लागि नयाँ कप्तान मिरण्डाले गोल गर्दै अग्रता दिलाए पनि डिफेन्डर मार्कुइन्होसले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। तर नेमारले गोल गर्दै ब्राजिललाई जित दिलाए।
कोलम्बियाविरुद्ध विजयी गोल गरेसँगै नेमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने सूचीमा जिकोसँग बराबरी गरेका छन्। जिको र नेमारको गोल संख्या ४८ रहेको छ।
एडिनसन काभानी र लुइस स्वारेजको प्रेरणादायी प्रदर्शनमा उरुग्वेले पाराग्वेमाथि शानदार जित हात पारेको छ। उरुग्वेको जितमा काभानीले २ गोल गरे भने स्वारेज र क्रिस्टियन रोड्रिग्वेजले १/१ गोल गरे।
छनोटकै अर्को खेलमा पेरुले इक्वेडरलाई २-१ ले पराजित गरेको छ। चिली र बोलिभियाले भने गोलरहित बराबरी खेलेका छन्।