
काठमाडौं : सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले प्रशासनिक पुनर्संरचना रचनाको प्रस्ताव चाँडै पेश गर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा बोल्दै मन्त्री बुढाथोकीले संविधान कार्यान्वयनको लागि पनि प्रशासनिक क्षेत्रको पुनर्संरचना आवश्यक भएकोले छिट्टै यसबारेमा खाका सार्वजनिक गर्ने बताए। ‘एकातिर आयोगले भौगोलिक पुनर्संरचनाको काम गरिरहेको छ, अब हामी प्रशासनिक क्षेत्रको पुनर्संरचनामा जुटेका छौं, यसको लागि गृहकार्य सुरु भएको छ,’ उनले भने।
सरकारको मिसन नै संविधान कार्यान्वयन गर्नु भएकोले त्यसतर्फ सरकार गम्भीर भएको उनले स्पष्ट पारे।
हाल ८५ हजार निजामती कर्मचारीहरु रहेको बताउँदै प्रशासनिक पुनर्संरचना गर्दा कर्मचारीहरुलाई उपर्युक्त स्थान दिने उनको भनाइ थियो। ‘अहिले २८ सय कर्मचारीको सरूवा तथा बढुवाको कुरा आएको छ, लोकसेवा आयोगले स्विकृति दियो भने गम्भीर भएर यसबारेमा निर्णय गर्छु,’मन्त्री बुढाथोकीले भने।
सबैतिर राजनीतिको प्रभाव रहेको भन्दै उनले कर्मचारीहरु यसबाट टाढा बस्नुपर्नेमा जोड दिए। 'म स्वयं पनि कार्यालय समयभित्र राजनीतिक गतिविधिमा संलग्न हुनेछैन, कर्मचारी साथीहरुले पनि यसबारेमा सोच्नुपर्छ,' उनले भने।
आफू कर्मचारी सरूवा तथा बढुवाको कुनै लोभलालचमा नफस्ने बताउँदै उनले भने, ‘मेरो लागि यस्तो कुरा कुनै मतलबको होइन, म चुक्नेवाला छैन, ढुक्क हुनुहोस् राम्रो काम गर्नेलाई म खुल्ला दिलले पुरस्कार गर्छु, गल्ती गर्नेलाई कुनै हालतमा छोड्दिन।’