PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

​वीपी जयन्तिमा कांग्रेसी समिक्षा : 'के हामी वीपीको पार्टी भन्न लायक छौ?'



रमेश वाग्ले

​वीपी जयन्तिमा कांग्रेसी समिक्षा : 'के हामी वीपीको पार्टी भन्न लायक छौ?'

काठमाडौँ : १०२ औं वीपी जयन्तिका अवसरमा फेरि कांग्रेसीहरुले वीपीलाई सम्झिएका छन्। प्रायजसो अवसर नपाएकाहरुबाट र महाधिवेशनका समयमा भोट तान्नका लागि मात्र वीपी सम्झने कांग्रेसका नेताले मात्र हैन, अवसर पाएका मन्त्रीसम्मले वीपीको पार्टी भन्न सक्नुपर्ने अवस्थामा जान आवश्यक भएको बताए।

वीपी जयन्तिको अवसरमा वीपी प्रजातान्त्रिक सेनानी सम्मान पाउने श्यामकुमार श्रेष्ठका विषयमा बोल्न पुगेका कांग्रेस नेता तथा पूर्वमन्त्री होमनाथ दाहालले श्रेष्ठको विषयमा कम, वीपीको विषयमा ज्यादा बोले। उनले वीपीको विषयमा बोल्दै गर्दा पछिल्लो सरकारमा मन्त्री सिफारिशको विषयले वीपीको पार्टी भन्न समेत लाज हुने अवस्था आएको बताए।

'हुन त मेरै साथीहरु मन्त्री हुनुभएको छ, उहाँहरुका विषयमा मेरो कुनै कमेन्ट छैन' दाहालले भने, 'तर जसरी उनीहरुको सिफारिस भयो, के हामीले अब वीपीको पार्टी भन्ने नैतिकता बाँकी रहन्छ?'  उनले वीपीले १६ सालमा नै समावेशी मन्त्रिपरिषद् बनाए पनि अहिलेको नेतृत्वले त्यसो गर्न नसकेको बताए। 

शेरबहादुरकै मन्त्रिपरिषद्का कृषि तथा सहकारी मन्त्री दाहालले पार्टीभित्र गुटको भागवण्डाले कांग्रेसका नभएर विभिन्न नेताका मात्र मन्त्री बनेको सन्देश गएको बताए। उनले सिद्धान्त र आदर्शको राजनीति समाप्त भएको भन्दै त्यस्तो राजनीति स्वयं राजनीतिक दल, तिनका नेता र समग्र राजनीतिक प्रक्रियाकै लागि खतरनाक भएको चेतावनी दिए। 

लगत्तै कांग्रेसका तर्फबाट पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री रहेका जीवनबहादुर शाहीले कांग्रेसमा वीपीको नाम बेच्ने काम भए पनि उनको आदर्श स्थापना हुन नसकेको बताए। 'हामीले वीपीको नाम धेरै घोटेर पिएका त छौँ तर त्यसको रस जनतालाई चखाउन अहिलेसम्म सकेका छैनौ' शाहीले भने, 'अहिलेको मन्त्रिपरिषद्माा पनि हाम्रो तर्फबाट मुस्लिम र दलित छुटेका छन्।'

सभापति देउवाकै तर्फबाट सिफारिश भएका मन्त्री शाहीले 'सभापति यहीँ हुनुहुन्छ। कदमको औचित्य स्थापित गर्नुपर्छ' भने। उनले वीपीले समाजवादका केही निश्चित कार्यक्रमसमेत अघि सारेको भन्दै त्यसको औचित्यबारे बहस गरी बाँकी त्यस्तै वर्तमान सन्दर्भका कार्यक्रम आवश्यक हुने बताए।  

वीपीको समाजवादलाई सरकारमा रहेर औचित्यहिन बनाएको आरोप लाग्ने गरेका पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले गुटबन्दीले पार्टीलाई थिलथिलो पारेको बताए। उनले गुटको राजनीति छोडेर कांग्रेसको राजनीति शुरु गर्न पनि नेताहरुलाई आग्रह गरे। 

उनले विगतमा जस्तै आफ्नो अर्थनीतिको बचाउ गर्दै वीपीको समाजवाद कै जगबाट आफ्नो अर्थनीति बाहिर नभएको बताए। 'उत्पादन बढाएर मात्र वितरण बढाउन सकिन्छ भन्ने वीपीको अर्थनीति र समाजवाद पनि हो,' महतले भने, 'हामीले धेरै सानो राजस्वको स्रोत रहेको अवस्थाबाट देशलाई ५६५ अर्ब राजस्व संकलन गर्न सक्ने क्षमतामा पुर्याकएका छौँ।' उनले आफ्ना राम्रा कुरामा गर्वबोध गर्नुको साटो कमजोरी मात्र देख्नु 'लघुताभाषी सोच' भएको भन्दै  राम्रा कुरा जनतासँग पुर्यागउन आग्रह गरे। 

'गाउँमा एक पाथी भैँसीको दूध उत्पादन गरेर एक-एक चम्चा बाँडेर समाजवाद आउँदैन,' डाक्टर महतले उदाहरण दिए, 'त्यसका लागि दूधको उत्पादन बढाउनु पर्‍यो। उत्पादन बढे, कसैलाई व्यवसाय पनि हुन्छ र वितरण पनि सम्भव हुन्छ।'  उनले वितरणलाई मात्र समाजवाद देख्ने नजर बदल्न पनि आग्रह गरे। 

कांग्रेसका पाका नेता तथा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले पहिला नेताहरुबीच नै एक अर्काप्रति सम्मानको भाव रहेको भन्दै अहिले आफै सर्वेसर्वा भन्ने भावना नेतृत्व तहमा पनि समस्याका रुपमा देखिएको बताए। 

'गणेशमानजीले वीपीलाई यो बाहुन नेता मात्र हैन देउता हो। बोल्न लेख्न र त्यसमा कन्भिन्स गर्न यति खुबी सबैलाई हुँदैन' भन्नु हुन्थ्यो' गुरुङले भने, 'तर अहिले एउटा नेताले राम्रै कुरा भन्यो भने पनि त्यसलाई खुइल्याउन लागिरहनुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell