PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मध्यरातमा आएको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु



पहिलोपोस्ट

पोखरा : भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिँदा कास्कीको लेखनाथ नगरपालिका–४ वैद्येपानी खरानीफाँटमा एकै परिवारका चार जनाको ज्यान गएको छ। घटनामा दुई जना घाइते भएका छन्।
 
गएराति साढे ११ बजेतिर आएको पहिरोले चन्द्रकली विक सुनारको तीनकोठे पक्की घर पुरिएको प्रहरीले जनाएको छ। सो घटनामा उनका १४ वर्षीय छोरा निशान, ९ वर्षीया छोरी रजिना, ७ वर्षीया छोरी अन्जिला र अढाई वर्षीय नाति सलमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मृतक सलमान बुधबार मात्रै हेटौँडाबाट मावलीमा ल्याइएका थिए।
 
चन्द्रकलीका छोरीहरु कविता र सजिना गम्भीर घाइते भएका छन्। उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घरधनी चन्द्रकली र जेठी छोरीपट्टिको एक नाति सन्दीप सुनार अर्को घरमा सुतेकाले उनीहरु भने सकुशल रहेका छन्।
 
त्यस्तै, कास्की जिल्लाको अर्मलाका ६२ वर्षीय देउबहादुर नेपालीको घर पनि पहिरोले आंशिक क्षति पुर्‍याएको छ। उनी पनि घाइते भएका छन्। त्यस्तै फिर्के खोलामा बगाएका एक जना मानिसको खोजी कार्य भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell