PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

खुमबहादुर खड्का जो ओछ्यानबाटै देउवालाई थर्काइरहेका छन्



रमेश वाग्ले

खुमबहादुर खड्का जो ओछ्यानबाटै देउवालाई थर्काइरहेका छन्

काठमाडौं : गत वर्ष भारतमा मिर्गौला प्रत्यारोपण गराएर फर्किएका कांग्रेस नेता खुमबहादुर खड्का अहिले घरमै आराम गरिरहेका छन्।
 
उपचारबाट फर्किएलगत्तै महाधिवेशनमा हामफालेका खड्काले महाधिवेशनमा पनि तेस्रो मत ल्याएर केन्द्रीय समिति प्रवेश गरेका थिए। सभापतिमा ससर्त देउवालाई सहयोग गरेका उनी यति बेला सर्त पालना नगरेको भन्दै देउवासँगै असन्तुष्ट छन्। महाधिवेशनमा उपसभापति नियुक्त गर्ने देउवासामु सर्त तेर्स्याएका खड्काको दिमागमा अहिले अर्को प्रश्न रिङ्गिइरहेको छ- 'के त्यो भद्र सहमति पालना हुँदैन?'
 
आराम गरेकै ठाउँबाट सभापतिलाई उनी थर्काइरहेका छन्।
 
केही दिनअघि भेटेरै सहमति पालना हुन्छ वा हुँदैन भन्दै सभापति देउवालाई प्रश्न गरेका खड्काले भ्रातृ संस्थाहरुको महाधिवेशनपछि मात्र नियुक्त गर्ने जवाफ पाएका थिए। त्यसपछि थप असन्तुष्ट बनेपछि ललितपुरमै आफ्नो पक्षको छुट्टै भेला राखे। त्यहाँ उनले भनेका थिए, 'देउवाजीले भ्रातृ संस्थाको अधिवेशनपछि मात्र नियुक्ति भनेका छन्। यसरी हुँदैन, यो टार्ने कुरा मात्र हो।'
 
खड्काको असन्तुष्टिले भ्रातृ संस्थामा असर पर्छ भन्ने ठानेका देउवाले उनलाई थप असन्तुष्ट नपार्नकै लागि भ्रातृ संस्थाको अधिवेशनलाई नयाँ सर्त बनाएको जनाएको छ। युवाहरुको राम्रै पहुँचमा रहेका खड्काले भ्रातृ संस्थामा असहयोग गरे समस्या हुने निस्कर्षसहित सभापति देउवाले भ्रातृ संस्थाको अधिवेशनअघि नियुक्ति रोक्न खोजेको बताउँछन्, कांग्रेसका एक केन्द्रीय सदस्य।
 
'उपसभापति भनेको पार्टीको नीति तथा प्रशिक्षण कार्यक्रम गर्ने कार्यकारी भूमिकाको पद हो, खुमबहादुरजी स्वस्थ भएको भए मात्र त्यो पद उहाँलाई उपयुक्त हुन्थ्यो,' देउवा पक्षका एक केन्द्रीय सदस्यले भने, 'तर अहिले उहाँलाई त्यो पद उपयुक्त हुँदैन जस्तो लाग्छ।' उनले देउवासँग यसबारे कुराकानी नभए पनि भ्रातृ संस्थाको अधिवेशन सकेर गर्छु भन्ने सर्तले आफूसँग सभापतिको पनि सोच मिलेको हुन सक्ने बताए।
 
देउवा पक्षका वरिष्ठ मध्येका एक केन्द्रीय सदस्य खड्काले राजनीतिक भूमिका भन्दा पनि पोस्टहरुमा दाबी गरेर गैरराजनीतिक भूमिकाबाट स्थापित हुन खोजेकाले उनलाई राजनीतिक भूमिका दिन नहुने बताए। 'यति जना केन्द्रीय सदस्य वा यो यो पद दिए सहयोग गर्छु नत्र गर्दिन भन्ने राजनीतिक माग होइन र उहाँले राजनीतिक शैली पनि देखाउनु भएको छैन,' उनले भने, 'त्यसैले त्यस्ता व्यक्तिलाई स्थापित गरेर राजनीति सही ढंगले अघि पनि बढ्दैन।' उनले यो विषयमा सभापतिलाई पनि जानकार रहेको भन्दै निर्णय पनि सभापतिकै विवेकबाट हुने विश्वास व्यक्त गरे।
 
नेपाल विद्यार्थी संघको महाधिवेशनमा निकै सक्रिय रहेका खड्का गएको एक हप्ता डाक्टरको सुझाव अनुसार कसैसँग भेटघाट नगरी घरैमा आराम गरिरहेका थिए। तर अहिले फेरि आफ्नो सक्रियता देखाउन थालेका छन्।
 
'नेविसंघ अधिवेशनपछि एक हप्तासम्म मात्र उहाँले भेटघाट बन्द गरेर आराम गर्नुभएको हो। अहिले त पुरानै अवस्थाको भेटघाटमा हुनुहुन्छ,' खड्काका व्यक्तिगत सहयोगी चुडामणिले भने, 'उहाँ घरमै चल्तीको मन्त्रालयमा जस्तै भेटघाट गरिरहनुभएको छ, कार्यकर्ताका काम पनि गरिरहनुभएको छ।' उनले नेविसंघ अधिवेशनमा धेरै प्रेसरमा भेटघाट गरेपछि डाक्टरले केही दिन आराम गर्न भनेकाले खड्काले आराम गरेको जानकारी दिए।
 
'जिम्मेवारी दिए न बाहिर निस्कने हो, उहाँसँग महाधिवेशन अघि गरेको कमिट्मेन्ट पूरा भएन,' उनले भने, 'कुनै भूमिका नभएसम्म यतिकै बाहिर निस्कने कुरा त भएन नि।' खड्काले देउवाले जिम्मेवारी दिए पनि नदिए पनि निर्णय गरेपछि आफ्नो क्रियाशीलता देखाउने भूमिका मात्र फरक हुने उनी बताउँछन्।
 

देउवाका दुई पिलर


नेपाली कांग्रेसको १३औं महाधिवेशनले देउवालाई नेतृत्वमा स्थापित गरायो। त्यसमा तत्कालीन संसथापनभित्र सर्वमान्य नेतृत्व नहुनु, नेताहरुबीच नै कटुता बढ्नु, सबैलाई आफै मात्र नेता हुँ भन्ने घमण्ड बढ्नु जस्ता विविध कारण अघि सारिने गरिएको छ। तिनै कारणले पनि केही हदसम्म काम गरेका होलान्। तर देउवालाई सभापतिमा स्थापित गर्ने दुई व्यक्तिले आफूलाई पिलरको रुपमा प्रस्तुत गर्दै त्यसअनुरुप भाग पनि पाइरहेका छन्।
 
ती दुई व्यक्ति हुन्, खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला।
 
गोविन्दराज जोशीलाई विभिन्न अभियोग लागेपछि जोशी नै गिरिजाप्रसाद कोइरालाको निवास छिराइदिएका सिटौला कूटनीतिक व्यवस्थापन र कोठे राजनीतिमा माहिर मानिन्छन्। विगतमा कोइराला पक्षका कट्टर सहयोगीका रुपमा काम गरेका उनले पार्टीको १३औं महाधिवेशनमा मात्र छुट्टै गुटको राजनीति सुरु गरेर सभापतिमा उम्मेदवारी दिएका थिए। पहिलो चरणमा थोरै मात्र मत पाएका सिटौलाले दोस्रो चरणमा देउवालाई समर्थन गरेर देउवाकै सभापतित्वका लागि निर्णायक भएको श्रेय लिए। त्यही श्रेयका आधारमा उनले अहिलेको सरकारमा एक मन्त्रीको कोटा लिएर गगन थापालाई मन्त्री बनाएका छन्।
 
यसअघि नै देउवा समूहमा रहेका खड्काले भने महाधिवेशनको पूर्वसन्ध्यामा देउवालाई ससर्त सहयोग गरेका थिए। पार्टीको उपसभापति र सहमहामन्त्री सहित १० केन्द्रीय सदस्यको माग गरेका खड्काले पछि उपसभापति र केही केन्द्रीय सदस्यमा कुरो मिलाए। उनले देउवा समूहकै राजनीति गरे पनि सिटौलासरह वर्तमान सरकारमा एक मन्त्रीको भाग देउवाबाट लिएका छन्। र, शंकर भण्डारीलाई मन्त्री बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell