PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

दलित छात्रवृत्ति झ्वाम पार्ने प्रधानाध्यापकसहित चार जनाविरुद्ध उजुरी



पहिलोपोस्ट

 
खोटाङ : रकम हिनामिना गरेको आरोपमा जिल्लाको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र समितिका दुई सदस्यविरुद्ध अख्तियारमा उजुरी परेको छ।
 
जिल्लाको पश्चिमी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थापन समिति अध्यक्ष रुपेन्द्र राई, प्रधानाध्यापक विष्णुकुमार राई, समितिका सदस्य प्रदीप राई र बाल राईविरुद्ध उजुरी परेको हो।
 
अध्यक्ष, प्रअ र दुई जना सदस्यको मिलोमतोमा दलित छात्रवृत्ति, भवन निर्माण तथा दातृ निकायबाट प्राप्त रु ३५ लाख ५० हजार रकम हिनामिना भएको उजुरीमा उल्लेख छ।  
 
दलित छात्रवृत्तिका लागि विगतका तीन आर्थिक वर्षमा आएको रु तीनतीन लाख गरी जम्मा नौ लाख, विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त २४ लाख, अभिभावकबाट चन्दा सङ्कलन गरिएको रु एक लाख र फर्निचर निर्माणका लागि गाविसबाट छुट्याइएको एक लाख ५० हजार रुपैयाँ रकम उनीहरुले हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौँमा परेको उजुरीमा दाबी गरिएको छ।
 
विद्यालयमा आउने अन्य विभिन्न शीर्षकका रकमसमेत उनीहरुले आफू अनुकूल भागबन्डा गरेर खाने गरेको अभिभावकले दिएको उजुरीमा जनाइएको छ।
 
विद्यालयमा अध्ययनरत दलित छात्रछात्राले आफूहरुले पाउँदै आएको छात्रवृत्ति रकम लगातार तीन वर्षदेखि नपाएको गुनासो गरेपछि सो कुरा बाहिर आएको स्थानीयवासीले बताएका छन्।
 
आर्थिक अनियमितताका विषयमा यसअघि सोही विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत छानबिन गरी कारबाही अगाडि बढाइयोस् भनेर आन्दोलन गरेका थिए। आर्थिक अनियमितताका विषयलाई लिएर पछिल्लो समय विद्यालयमा भइरहेको विवादले आफूहरुको पठनपाठनमा समेत असर गरेको विद्यार्थीले बताएका छन्।
 
विद्यालयमा भएको समस्या समाधानतर्फ हालसम्म सम्बन्धित निकायले चासो नदिएको स्थानीय अभिभावक तामन राईले बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell