
काठमाडौं : थारु समुदायमा मात्र रहेको आनुवंशिक रोग 'सिकलसेल एनिमिया' पहिचान गर्न सरकारले २० हजार जनाको डिएनए परीक्षण गर्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज व्यवस्थापिका संसदमा सम्बोधन गर्दै ६ महिनाभित्र २० हजार जनामा सो परीक्षण गरिने घोषणा गरेका हुन्। साथै परीक्षणपछि परिचयपत्रको व्यवस्था गरी जेनेटिक काउन्सिलिङको व्यवस्था पनि सरकारले मिलाउने भएको छ। दुई वर्षभित्र सबैको परीक्षण सकिने पनि प्रधानमन्त्रीले बताए।
यस्तै जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा चिकित्सकहरूको उपस्थिति सुनिश्चित गर्न हरेक जिल्लामा आवश्यकताअनुसार चिकित्सकहरूको जगेडा (पुल) दरबन्दी कायम गरिने भएको छ। यसका, लागि नियमित दरबन्दी र छात्रवृत्तिबाट अध्ययन सुविधा पाई अनिवार्य करारमा कार्यरत चिकित्सकहरूका अतिरिक्त कूल एक सय चिकित्सक देशभर जगेडा दरबन्दीमा राखिने प्रधानमन्त्रीले सम्बोधन क्रममा जानकारी गराए।
स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी संस्थाहरूबाट बिहान १० बजेदेखि २ बजेसम्म मात्र बहिरंग सेवा प्रदान गरिरहेकोमा अब बिहान १० देखि पाँच बजेसम्म यो सेवा उपलब्ध गराइनेछ। दुर्गम वा स्वास्थ्य संस्थामा तीन महिनाभित्र दरबन्दी बमोजिमको डाक्टर पुर्याइने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाए।