
काठमाडौँ : प्रतिभा सम्मान प्रबन्ध गुठीले यसवर्षको ‘प्रतिभा सम्मान’ संस्कृतविद् सत्यमोहन जोशीलाई प्रदान गरेको छ।
नेपाली भाषा साहित्य र संस्कृतिको उत्थानमा विशेष योगदान पुर्याएकोले उनलाई आज आयोजित एक कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो।
पञ्चकन्या इरा दुवाल, इशा महाँजू, चिछु कर्माचार्य, युविना नकर्मी, इच्छा महाजुले संयुक्त रुपमा नगद रु २५ हजार र ताम्रपत्र प्रदान गरी उनलाई सम्मान गरिएको हो।
सम्मानित व्यक्तित्व जोशीलाई मूर्धन्य संस्कृतविद्, शताब्दीऔँ पुरुष र उच्चविचारका धनी मानिँदै आएको छ।
झन्डै २० वर्षअघि बनेपाका समाजसेवीले स्थापना गरेको उक्त गुठीले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान दिने प्रतिभालाई सम्मान गर्दै आएको छ। हाल उक्त गुठी रु आठ लाख बचतको ब्याजबाट सञ्चालन हुँदै आएको छ।
आजै उक्त गुठीले यसवर्षको ज्ञानबहादुर पदक लोकगायक मच्छेश्वर सापकोटालाई र नाटककार भूषण श्रेष्ठलाई कान्छाभाइ पदकबाट सम्मान गरेको छ।
सम्मानितद्वयलाई जनही नगद १० हजार र कदरपत्रबाट सम्मान गरिएको थियो।
प्रतिभा सम्मान प्रतिभा गुठीका अध्यक्ष साहित्यकार मोहन दुवालको सभापतित्वमा सम्पन्न सो समारोहमा संस्कृतिविद् जोशीले नैसर्गिक रुपमा प्रस्फुटित प्रतिभा सम्मान गर्न लायक हुने बताए। रासस