PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

बाढीले ६ घर बगायो, जलविद्युत् केन्द्रमा समेत क्षति



पहिलोपोस्ट

फलेवास (पर्वत) :  बुधबार दिउँसोदेखिको अविरल वर्षाका कारण पातीखोलामा आएको बाढीले ६ वटा घर बगाएको छ। बाढीले माछा फर्म र पातीखोला जलविद्युत् केन्द्रमा समेत क्षति पुर्‍याएको छ।
 
गएराति ३ बजेको समयमा आएको बाढीले देउपुर गाविस–९ मा ६ घर बगाएको हो। देउपुर–९ का खोला किनारमा रहेका सुन्दर विक, अन्तरे विक, कालु विक, प्रेमप्रसाद चापागार्इं, यामबहादुर चोचाङ्गी र बाजुङ–१ का मनबहादुर पौडेलको पानी मिल बगेको छ। घर बगाएर बिस्थापित भएका उनीहरु अहिले आफन्तकोमा सहारा लिएर बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
स्थानीय यामबहादुर चोचाङ्गीको धौलागिरि साबुन फ्याक्ट्रीमा बाढीले क्षति पुर्‍याउँदा लाखौँको धनमाल बगाएको छ।
 
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले देउराली गाविस–६ मा रहेको एक मेघावाट क्षमताको पातीखोला जलविद्युत् केन्द्रमा पनि क्षति पुर्‍याएको छ। बाढी पसेपछि सो केन्द्रको विद्युत् उत्पादन समेत बन्द भएको छ।
 
बाढीले करोडौँको लगानीमा पार्वती आमा समूहले सञ्चालन गरेको पातीखोला रेन्बोट्राउट फार्ममा समेत ठूलो क्षति पुगेको सञ्चालक यामप्रसाद शर्माले जानकारी दिए।
 
घटनामा परी कुनै मानवीय तथा चौपायाको क्षति नभएको र अहिले सबै परिवारको क्षतिको विवरण लिने काम भइरहेको तर घटनाको पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell